अस्ट्रेलियामा दुई सवारी दुर्घटना : चार जनाको मृत्यु, तीन जना गम्भीर घाइते

अस्ट्रेलियामा दुई सवारी दुर्घटना : चार जनाको मृत्यु, तीन जना गम्भीर घाइते

एजेन्सी : अस्ट्रेलियाको पूर्वी राज्य न्यु साउथ वेल्समा शनिबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु र तीन जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार पहिलो दुर्घटना स्थानीय समयअनुसार साँझ करिब ७ बजे सिड्नीबाट १०० किलोमिटर दक्षिणपश्चिमस्थित अवोका सहरमा भएको हो।

दुई सवारीसाधन आपसमा ठोक्किँदा एउटा गाडीमा सवार पहिचान नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्को गाडीकी ६४ वर्षीया चालक र ६५ वर्षीय यात्रु गम्भीर घाइते भई अस्पताल भर्ना भएका छन्।

यस्तै, राति साढे १० बजे क्वीन्सल्यान्ड सीमा नजिकै उत्तरी न्यु साउथ वेल्समा एउटा गाडी सडकबाट बाहिरिएर रुखमा ठोक्किँदा २० वर्ष आसपासका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका २० वर्ष आसपासकै तेस्रो व्यक्तिलाई उपचारका लागि क्वीन्सल्यान्डस्थित अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ।

दुवै दुर्घटनाको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक २९, २०८३ आइतबार १०:४५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।