२२ घण्टा माइक्रोसफ्ट ठप्प हुँदा विश्वभर हाहाकार, अमेरिकी संसददेखि सिङ्गापुरको अदालतसम्म अवरुद्ध
एजेन्सी : विश्वभर २२ घण्टाभन्दा बढी समय माइक्रोसफ्टका सेवाहरू ठप्प हुँदा सरकारी निकाय, ठूला व्यवसाय र संवेदनशील सेवाहरू मुठीभर प्रविधि कम्पनीमा कति निर्भर रहेछन् भन्ने गम्भीर प्रश्न उब्जिएको छ।
माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक र टिम्स जस्ता सेवामा आएको अवरोधले विश्वका ७० भन्दा बढी देशमा असर पुर्याएको बीबीसीले जनाएको छ।
विश्वभर करिब ४३ करोड मानिसले प्रयोग गर्ने माइक्रोसफ्ट ३६५ सेवा झन्डै एक दिनसम्म अवरुद्ध हुँदा सामान्य व्यवसाय मात्र होइन, शक्तिशाली राष्ट्रका संवेदनशील संयन्त्रसमेत प्रभावित भए।
अवरोधका कारण अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र अस्ट्रेलियाका गुप्तचर निकायहरू को इमेल प्रणाली नै बन्द हुन पुग्यो। त्यस्तै, सिङ्गापुरको अदालत प्रणाली र भारतका एयरलाइन्सका सहायता कक्षहरू मा समेत कामकाज प्रभावित भएको छ।
एउटा ‘रुटिन चेक’ ले निम्त्याएको महासङ्कट
माइक्रोसफ्टका अनुसार यो अवरोध कुनै साइबर आक्रमण नभई प्राविधिक त्रुटिका कारण भएको हो।
रुटिन अटोमेटेड चेकका क्रममा केही सर्भरहरू अफलाइन भएपछि बाँकी रहेका सर्भरमा ट्राफिकको अत्यधिक चाप परेर प्रणाली नै अवरुद्ध हुन पुगेको दाबी गरिएको छ।
माफी माग्दै माइक्रोसफ्टले शुक्रबार रातिसम्म पनि सेवा कहिले पूर्ण रूपमा सामान्य हुन्छ भन्ने निश्चित समयसीमा (ईटीए) तोक्न सकेको थिएन।
यद्यपि, अत्यधिक मागका कारण प्रणालीमा स्थायित्व कायम राख्न इन्जिनियरहरूले चरणबद्ध र बिस्तारै सेवा पुनर्स्थापित गरिरहेको कम्पनीका प्रवक्ताले बताएका छन्। अब यस्ता घटना दोहोरिन नदिन आन्तरिक समीक्षा भइरहेको माइक्रोसफ्टले जनाएको छ।
‘एआई’को युगमा अझ ठूलो जोखिमको चेतावनी
यो लामो अवरोधले विश्व अर्थतन्त्र र सरकारी प्रणालीमा रहेको डिजिटल कमजोरीलाई छर्लङ्ग पारिदिएको विज्ञहरूले बताएका छन्।
‘स्मॉल बिजनेस चार्टर’ की कार्यकारी निर्देशक फ्लोरा ह्यामिल्टनले यस घटनालाई व्यवसायहरू दैनिक कामकाजका लागि माइक्रोसफ्ट आउटलुकजस्ता डिजिटल प्रणालीमा कति निर्भर छन् भन्ने ‘कडा चेतावनी’ का रूपमा व्याख्या गरिन्।
साना तथा मझौला उद्यम (एसएमई) का लागि ग्राहक र आपूर्तिकर्तासँगको सम्पर्कदेखि आम्दानीसम्म इमेलमै निर्भर रहने उनको भनाइ छ।
त्यस्तै, एआई रणनीतिकार वाल्टर पास्क्वारेलीले बीबीसीसँग कुरा गर्दै सरकार, व्यवसाय र महत्त्वपूर्ण पूर्वाधारको कमजोरी तथा परनिर्भरता स्पष्ट देखिएको बताए।
“आगामी दिनमा एआई असिस्टेन्टहरू हाम्रो इमेल, क्यालेन्डर र फाइलहरूसँग प्रत्यक्ष जोडिँदै जाँदा यस्ता प्राविधिक अवरोधको असर अझ व्यापक रूपमा फैलिन सक्छ”, उनले चेतावनी दिए।
प्रमुख प्रविधि कम्पनीहरूमा काम गरिसकेका पूर्ववरिष्ठ सफ्टवेयर इन्जिनियर गेर्गेली ओरोसले यस्ता प्राविधिक अवरोध नौलो नभए पनि प्रणाली सुधार्न झन्डै एक दिन लाग्नु असामान्य भएको टिप्पणी गरे।
यसले मुठीभर ठूला अमेरिकी कर्पोरेसनमाथिको विश्वव्यापी निर्भरता देखाएको उल्लेख गर्दै उनले भविष्यमा क्षति कम गर्न अमेजनको क्लाउड सेवाले झैँ रिजनल स्प्लिट गर्ने प्रणाली अपनाउनुपर्ने सुझाव दिए।
कात्तिक २८, २०८३ शनिबार १४:०८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।