अछाममा भिरबाट लडेर एक जनाको मृत्यु, एक घाइते
अछाम : अछामको ढकारी गाउँपालिका–१ बासल्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय बिर्खे बुढा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
गएराति स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा बासल्ला नजिकैको भिरबाट लडेर बुढा करिब १५० मिटर तल खसेका थिए। उनीसँगै घर फर्कंदै गरेका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भिरबाट खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिए।
उनका अनुसार भिरबाट लडेर दुई जना घाइते भएका भन्ने खबर पाउनासाथ तत्काल प्रहरीचौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरीदत्त भट्टको कमाण्डमा तीन जनाको टोली खटिएर उद्धार गरिएको थियो।
घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपश्चात गणेश डिस्चार्ज भएको र बिर्खेलाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाएइकामा उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बम्मले जानकारी दिए।
बिर्खेको, अनुहार, छाती र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो। मृतकको शव जिल्ला अस्पतालमा राखिएको उनले बताए।
कात्तिक २८, २०८३ शनिबार १४:२४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।