बर्दियामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, मिनी बस चालकसहित १५ घाइते

बर्दियामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, मिनी बस चालकसहित १५ घाइते

काठमाडौं : बर्दियाको हुलाकी सडकखण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनी बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब पौने २ बजे गुलरिया नगरपालिका-११ लालपुरस्थित उक्त सडकखण्डमा गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनी फोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ घर भएका ३४ वर्षीय हुकुम बहादुर खत्री र मोटरसाइकल पछाडि सवार पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। 

बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा चिकित्सकले खत्रीलाई र पहिचान नखुलेका पुरुषलाई दिउँसो मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते भएका १५ जनामध्ये मिनी फोर्स बसका चालक गुलरिया नगरपालिका-८ का ४० वर्षीय हरि चौधरीको बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस उपचार भइरहेको छ। दाहिने हातमा चोट लागेका उनको अवस्था मध्यम रहेको छ।

यस्तै, टाउको र दाहिने कोखामा चोट लागी अवस्था मध्यम रहेकी मधुवन नगरपालिका-९ धर्मबस्तीकी २६ वर्षीया ललिता चौधरी, दाहिने हात र टाउकोमा चोट लागी अवस्था मध्यम रहेका मधुवन नगरपालिका-५ का १८ वर्षीय सुरज बहादुर राजी तथा टाउको र दाहिने हातमा चोट लागी अवस्था मध्यम रहेका मधुवन-५ कै १७ वर्षीय संगम वलीलाई नेपालगन्ज रिफर गरिएको छ। 

अन्य घाइतेहरूमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको र सामान्य चोट लागेकाहरू प्राथमिक उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

कात्तिक २८, २०८३ शनिबार १७:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।