राहुल गान्धीले मोदीमाथि फोन ट्यापिङको आरोप लगाएपछि भाजपा नेताले भने - ‘टाउको जाँच गराउनुस्’
एजेन्सी : भारतीय लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरेको गम्भीर आरोप लगाइरहँदा कांग्रेस नेता साम पित्रोदाले भने प्रधानमन्त्रीको बचाउ गरेका छन्।
प्रधानमन्त्री मोदीसँग चाडपर्वको शुभकामना आदानप्रदानका क्रममा देखिएको आत्मीय सम्बन्धका कारण पछिल्लो समय चर्चामा रहेका पित्रोदाले एनडीटीभीसँगको विशेष अन्तर्वार्तामा यस्तो बताएका हुन्डीसँगको कुराकानीमा पित्रोदाले भने, "प्रधानमन्त्रीले त्यसो गर्नुहुन्न। प्रधानमन्त्रीले स्क्रुड्राइभर लिएर कम्प्युटर चलाउनुहुन्न।"
यद्यपि, पित्रोदाले आफ्नो फोन पनि ट्याप भइरहेको विश्वास गर्ने पर्याप्त आधार रहेको बताए। कसले फोन ट्याप गरिरहेको छ भन्ने नाम नलिइकन उनले भने, "मेरो फोन ट्याप गरिएको छ, मेरो ल्यापटपमा आक्रमण भएको छ, मेरा बैंक खाताहरू निगरानीमा छन्। मैले विज्ञहरूसँग परामर्श गरेको छु र उनीहरूले मेरा उपकरणहरूको जाँच गरेपछि मलाई ट्यापिङबारे सचेत गराएका छन्।"
उनले अगाडि थपे, "कसैले त्यसो गरिरहेको छ। मलाई थाहा छैन र मलाई वास्ता पनि छैन। म यसैसँग बाँचिरहेको छु। मलाई कुनै समस्या छैन। वरपर खराब मानिसहरू छन्। के गर्न सकिन्छ र?"
राहुल गान्धीको आरोप के थियो?
शुक्रबार राहुल गान्धीले केन्द्र सरकारद्वारा आफ्नो निगरानी भइरहेको गम्भीर आरोप लगाउँदै प्रधानमन्त्री मोदीले आफ्नो फोन ट्याप गराइरहेको दाबी गरेका थिए। साथै उनले प्रधानमन्त्रीलाई आफूसँग खुला बहस (ओपन डिबेट) का लागि सहमत हुन पुनः चुनौती दिएका थिए।
कांग्रेसले सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गरेको एक भिडियोमा राहुल गान्धीले भनेका थिए, "प्रधानमन्त्रीलाई यसबारे थाहा छ किनकि उहाँले मेरो फोन ट्याप गर्नुहुन्छ। जुन दिन उहाँ आमनेसामने बहसका लागि सहमत हुनुहुनेछ, त्यस दिन सबैले थाहा पाउनेछन् कि को विदेशी शक्तिको नियन्त्रणमा छ, को राष्ट्रविरोधी छ र उनीहरू कहिलेदेखि राष्ट्रविरोधी गतिविधिमा संलग्न छन्।"
गान्धीले प्रधानमन्त्री मोदी 'विदेशी शक्ति' को नियन्त्रणमा रहेको प्रमाण पहिले नै आफ्नो फोनमा रहेको र फोन ट्याप गरिएका कारण प्रधानमन्त्रीलाई त्यसबारे पहिले नै जानकारी रहेको दाबी गरेका छन्।
भाजपाको प्रतिक्रिया
राहुल गान्धीको फोन ट्यापिङसम्बन्धी आरोपलाई विपक्षी दलका केही नेताले समर्थन गरेका छन् भने भारतीय जनता पार्टी (भाजपा) ले त्यसलाई खारेज गरेको छ। भाजपाले विपक्षी नेताहरूले चर्चामा रहिरहनका लागि आरोप लगाउने तर त्यसलाई प्रमाणित नगर्ने नीति अपनाइरहेको टिप्पणी गरेको छ।
भाजपा नेता तथा पूर्व केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले राहुल गान्धीले आफ्नो दिमागको जाँच गराउनुपर्ने टिप्पणी गरेका छन्।
उनले भने, "राहुल गान्धीलाई म पूर्ण सम्मानका साथ यति मात्र भन्न सक्छु कि उहाँले आफ्नो टाउको (दिमाग) को जाँच गराउनुपर्छ। कसैलाई पनि उहाँको फोन ट्याप गर्ने फुर्सद छैन। कसैलाई पनि उहाँको फोन ट्याप गर्न रुचि छैन। यदि कसैलाई रुचि छ भने, उहाँको दिमाग किन दिनहुँ झुटमा मात्र चल्छ भनेर बुझ्नमा मात्र छ।"
कात्तिक २८, २०८३ शनिबार १३:४४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।