अमेरिकामा चार घण्टासम्म देशभरका उडान ठप्प

अमेरिकामा चार घण्टासम्म देशभरका उडान ठप्प

एजेन्सी : प्राविधिक तथा सञ्चार प्रणालीमा गम्भीर समस्या आएपछि अमेरिकाभर रोकिएका हवाई उडानहरू चार घण्टाभन्दा लामो अवरोधपछि पुनः सुरु भएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले प्रणालीको विस्तृत परीक्षण गरी सुरक्षित र भरपर्दो रहेको सुनिश्चित गरेपछि अमेरिकी समयअनुसार शुक्रबार राति १० बजेपछि देशव्यापी ‘ग्राउन्ड स्टप’ फुकुवा गरेको हो।

यद्यपि, उडान खुले पनि विमानस्थल र एयरलाइन्सहरूको तालिका सामान्य अवस्थामा फर्किन समय लाग्ने भएकाले शनिबार र सप्ताहन्तभर नै उडान ढिलाइ तथा रद्द हुने क्रम जारी रहने अधिकारीहरूले चेतावनी दिएका छन्।

१५ लाख यात्रु प्रभावित, १६ सयभन्दा बढी उडान रद्द
अमेरिकी समयअनुसार शुक्रबार अपराह्न करिब ४ बजे देशैभरका आन्तरिक उडान एक्कासि रोकिएपछि हवाई यातायात अस्तव्यस्त बनेको थियो। उड्डयन तथ्याङ्क विश्लेषण गर्ने संस्था ‘सिरियम’का अनुसार उडान अवरुद्ध हुँदा करिब १५ लाख यात्रु अलपत्र परेका छन्।

‘फ्लाइटअवेयर’को तथ्याङ्कअनुसार शुक्रबार मात्र अमेरिकाभित्र, अमेरिका आउने र जाने गरी करिब ९ हजार ८१४ उडान ढिला भएका थिए भने ५ हजार ११७ भन्दा बढी उडान रद्द भए। शनिबारका लागि पनि १ हजार ६०० भन्दा बढी उडान रद्द भइसकेका छन्।

उडान रोकको आदेश जारी हुँदा आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए, जसलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो।

उडान अवरोध हुँदा न्यूयोर्कको जेएफके, शिकागोको ओहेयर, मियामी, नेवार्क र वासिङ्टन डीसीलगायतका प्रमुख विमानस्थलमा यात्रुहरूको लामो लाइन र ब्यागेजमा भद्रगोल देखियो। रोनाल्ड रेगन वासिङ्टन नेसनल एयरपोर्टमा त विमान राख्ने ठाउँसमेत भरिएपछि अन्यत्रबाट डाइभर्ट गरिएका विमान लिनै बन्द गरिएको थियो।

एफएएको अनुरोधमा युरोपेली हवाई ट्राफिक नियन्त्रक संस्था ‘युरोकन्ट्रोल’ले आफ्ना ४२ सदस्य राष्ट्रबाट अमेरिकातर्फ जाने उडान मध्यरातसम्मका लागि रोकेको थियो।

एसियाका सोल, हङकङ, सांघाई र सिङ्गापुरबाट अमेरिका जाने उडान पनि प्रभावित भए। यता उडान अवरुद्ध हुँदा अमेरिकामा शनिबार हुने कलेज फुटबलका कैयौँ खेलहरूको समयसमेत सारिएको छ।

पुरानो प्रविधि र ‘ओभरलोड’ राउटर मुख्य कारण
प्रारम्भिक जानकारीअनुसार यो समस्या शिकागोको मिडवे अन्तर्राष्ट्रिय विमानस्थलको नेटवर्क राउटरबाट सुरु भई देशैभर फैलिएको थियो, जसका कारण राडार र रेडियो फ्रिक्वेन्सी दुवै अवरुद्ध भएका थिए। केही क्षेत्रको हवाई सेवा त पूर्ण रूपमा बन्द (एटीसी जिरो) अवस्थासम्म पुगेको थियो।

अमेरिकी यातायातमन्त्री शन डफी ले दशकौँ पुरानो ‘एनालग’ हवाई ट्राफिक नियन्त्रण प्रणाली र डेटाको अत्यधिक चाप (ओभरलोड) का कारण राउटरहरूले गलत तथा असङ्गत विवरण दिन थालेपछि सुरक्षाका लागि उडान रोक्नुपरेको स्पष्ट पारे।

उनले भने, “यो हाम्रो अत्यन्तै पुरानो प्रणालीको परिणाम हो। यात्रुको सुरक्षा मेरो पहिलो दायित्व भएकाले आकाश खाली गराएका हौँ।”

त्यस्तै, होमल्यान्ड सेक्युरिटी (आन्तरिक सुरक्षा) मन्त्री मार्कवेन मुलिन ले पुरानो प्रणालीमाथि नयाँ प्रविधि र सफ्टवेयर ‘प्याच’ थप्दा पुरानो संरचनाले भार थेग्न नसकेर प्रणाली नै ध्वस्त भएको बताए।

मुलिनले यो घटनामा साइबर आक्रमणको ‘शून्य प्रमाण’ भेटिएको र बिहीबार विश्वभर देखिएको ‘माइक्रोसफ्ट आउटेज’ सँग यसको कुनै सम्बन्ध नरहेको प्रस्ट पारे। यद्यपि, एफबीआई र एनएसए लगायतका सुरक्षा निकायले सूक्ष्म अनुसन्धान भने जारी राखेका छन् । “सर्वसाधारण र यात्रु कहिल्यै पनि खतरामा थिएनन्,” मुलिनले भने।

‘पैसा नदिए यस्ता घटना दोहोरिन्छन्’ : ५० अर्ब डलरको माग
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यातायातमन्त्री डफीले कंग्रेस (संसद्) ले आवश्यक बजेट नदिए यस्ता सङ्कट अझै दोहोरिने चेतावनी दिए।

“प्रणाली नसुधारेसम्म यस्ता घटना भइरहनेछन्,” उनले भने, “मैले र राष्ट्रपतिले पहिले ३० अर्ब डलर मागेका थियौँ, अब मलाई ५० अर्ब डलर चाहिन्छ।”

होमल्यान्ड सेक्युरिटी मन्त्री मुलिनले पनि टालटुले मर्मतले काम नचल्ने भन्दै करिब ५० अर्ब डलर लागतमा पूरै प्रणालीको ‘कम्प्लिट ओभरहल’ गर्नुपर्ने बताए।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि रिपब्लिकन सिनेटर एरिक स्मिटसँग टेलिफोन संवाद गरी हवाई पूर्वाधार र ट्राफिक नियन्त्रण प्रणाली आधुनिकीकरणसम्बन्धी विधेयक (मोर्डन स्काइज एक्ट) तत्काल पारित गर्न दबाब दिएका छन्।

उता डेमोक्र्याटिक सिनेटरहरू ट्यामी डकवर्थ र मारिया क्यान्टवेलले भने एफएएको प्रविधिमा देखिएको कमजोरीबारे संसदीय छानबिनको माग गरेका छन्।

मन्त्री डफीले उडान पूर्ण सामान्य हुन केही समय लागे पनि दुई सातापछि आउने ‘थ्याङ्क्सगिभिङ’ पर्वको यात्रामा यसको असर नपर्ने विश्वास व्यक्त गरेका छन्।

२३ वर्षमा दोस्रो पटक देशव्यापी ‘ग्राउन्ड स्टप’
अमेरिकामा सम्पूर्ण आन्तरिक उडान एकैपटक रोकिने घटना निकै दुर्लभ मानिन्छ।

यसअघि सन् २०२३ को जनवरी मा पाइलटहरूलाई सूचना दिने ‘नोटाम’ प्रणाली बिग्रिँदा केही घण्टाका लागि देशव्यापी उडान रोकिएको थियो। त्योभन्दा अगाडि सन् २००१ को सेप्टेम्बर ११ को आतङ्कवादी हमलापछि मात्र अमेरिकामा यसरी सम्पूर्ण आकाश बन्द गरिएको थियो।

कात्तिक २८, २०८३ शनिबार १०:३३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।