बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन जनाको अवस्था गम्भीर
काठमाडौं : बर्दियामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बर्दियाको बाँसगढी नगरपालिका-५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका गुलरिया नगरपालिका-११ का २४ वर्षीय ओमकार थारुलाई उपचारका लागि भारतको लखनउतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। त्यस्तै बारबर्दिया नगरपालिका-३ बानियाभारका २५ वर्षीय आशिष थारु, भारतको लौकाइका १८ वर्षीय सहाबुदिन खान र २२ वर्षीय जमाल खान गम्भीर घाइते भएका छन्।
उनीहरूको टाउको, मुख र अनुहारमा गम्भीर चोट लागेको छ। दुर्घटनामा अर्का व्यक्ति बाँसगढी नगरपालिका-७ का १८ वर्षीय रमन थारु सामान्य घाइते भएका थिए। टाउको र मुखमा सामान्य चोट लागेका उनको कौशिल्या अस्पताल बाँसगढीमा उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्।
मंगलबार दिउँसो करिब १ बजे भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ।
कात्तिक २५, २०८३ बुधबार १०:४४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।