कप्तान परिवर्तनबारे बोल्यो पोखरा, नयाँ कप्तान करुणारत्ने घाइते
काठमाडौं : लगातारको पराजयपछि टिमको भाग्य बदल्न कप्तान परिवर्तन गरेको पोखरा एभेन्जर्स फेरि अर्को संकटमा परेको छ।
मार्की खेलाडी कुशल भुर्तेललाई कप्तानीबाट हटाएर शुक्रबार श्रीलंकाली अलराउन्डर चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाइएको थियो। तर, नेतृत्व सम्हालेकै खेलमा करुणारत्ने घाइते भएका छन्।
पोखरा एभेन्जर्सका मालिक सुवोध त्रिपाठीका अनुसार शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा करुणारत्नेको हात सुन्निएको छ।
“कुशललाई कप्तानीको अतिरिक्त दबाबले गर्दा ब्याटिङ प्रदर्शन खस्कियो कि भनेर मुख्य प्रशिक्षक अजन्था मेन्डिस र कुशल आफैँ बसेर सल्लाह गरी हिजो चमिकालाई कप्तानी दिइएको थियो,” त्रिपाठीले उकेरासँग भने, “हिजो फिल्डिङका क्रममा चमिकाको हात सुन्निएको रहेछ। यदि उनी फिट भएनन् र खेल्नै नसक्ने भएमा अब के गर्छन्? कुशललाई नै कन्टिन्यु गराउँछन् कि? धेरै अब कति चेन्ज गर्ने?’
लगातार चार खेलमा पराजित भएर अंकविहीन बन्दै पुच्छारमा थन्किएको पोखराको प्लेअफ सम्भावना लगभग समाप्त भइसकेको छ। अब बाँकी खेलहरूमा टिमले बेन्चमा रहेका युवा खेलाडीहरूलाई मौका दिने नीति लिने भएको छ।
“अब धेरै उथलपुथल गर्नुभन्दा पनि हामीसँग अवसर नपाएका विवेक रानामगर, सन्नी बिकेजस्ता नयाँ युवा खेलाडीहरू छन्, अब उनीहरूलाई मैदान उतारेर परीक्षण गर्नेछौँ”, त्रिपाठीले स्पष्ट पारे।
कात्तिक २१, २०८३ शनिबार १४:३९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।