दैलेखमा गाउँकै एक व्यक्तिले घरमै पुगेर हँसिया प्रहार गर्दा एकै परिवारका पाँचजना घाइते
काठमाडौं : दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा गााउँकै एक व्यक्तिले घरमै गएर धारिलो हतियार (हँसिया) प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्।
सोही ठाउँका अन्दाजी ३६-३७ वर्षीका बमबहादुर रावतले आइतबार बिहान करिब ५ बजे चन्द्रबहादुर पुन मगरको घरमा पुगी हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट पुन मगरका श्रीमती ४५ वर्षीया बीमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन, उनका छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन र तीन महिनाकी नातिनी जानकी रोक्का मगर घाइते भएका छन्।
घाइते मध्ये बीमाको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि उनलाई जिल्ला अस्पताल दैलेख पठाइएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
रावतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २२, २०८३ आइतबार १३:४२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।