घोप्टेभिरको सुक्खा पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको छ।
आज बिहान सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग दिउँसो १२ बजेदेखि एकतर्फी र दिउँसो २:१५ बजेदेखि पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन्। सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो।
नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो। सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो। सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए।
कात्तिक २२, २०८३ आइतबार १५:२९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।