तिहार बिदामा मुस्ताङमा आन्तरिक पर्यटकको घुइँचो, मुक्तिनाथ र कोरला नाका मुख्य रोजाइ

तिहार बिदामा मुस्ताङमा आन्तरिक पर्यटकको घुइँचो, मुक्तिनाथ र कोरला नाका मुख्य रोजाइ

मुस्ताङ : तिहार तथा छठ पर्वको अवसरमा परेको लामो सरकारी बिदाका कारण हिमाली जिल्ला मुस्ताङमा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

दशैंअघि र पछि भारी वर्षा, हिमपात तथा प्रतिकुल मौसमका कारण सोचजस्तो पर्यटक भित्रिन नसके पनि तिहार सुरु भएसँगै मौसम सुधारिएपछि पर्यटकको आगमन बढेको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार तिहार नजिकिएसँगै विशेषगरी स्वदेशी पर्यटकको सङ्ख्या दुई तिहाइले बढेको छ। कात्तिक १ देखि १५ गतेसम्म कुल ३३५ हजार ८५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्।  जसअन्तर्गत स्वदेशी पर्यटकको सङ्ख्या २७ हजार १०७ जना र विदेशी पर्यटकको सङ्ख्या आठ हजार ७५१ जना रहेका छन्। विदेशी पर्यटकतर्फ सार्क राष्ट्रबाट सात हजार ७१४ जना र  अन्य राष्ट्रबाट एक हजार ३७ जनाले मुस्ताङको भ्रमण गरेका छन्।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका  अनुसार तिहार पर्वको छेकोमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, टोल समितिलगायतको व्यक्तिहरु मुस्ताङ घुम्न आउने गरेका छन्।

तिहारको छेकोमा मुस्ताङ भ्रमणमा आएकामध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका र केही पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन्। मुस्ताङमा हिउँदयामको चिसो ह्वात्तै बढेका भए पनि छठ पर्वसम्म सरकारी बिदा पर्ने भएकाले स्वदेशी पर्यटकको आगमन रहिरहने पर्यटन व्यवसायीको भनाइ छ।

तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाई मुस्ताङ बन्दै गइरहेको मुक्तिनाथका पर्यटन व्यवसाय सुरज गुरुङले बताए। यसरी आएका पर्यटक मुक्तिनाथको दर्शन गर्नुका साथै मुस्ताङका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किने गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए। 

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा बर्सेनि सडक यातायात सहज भएसँगै पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ। यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूलताका कारण पर्यटन आवागमनमा असर पुगेपनि गत वर्षको आगमन सङ्ख्यामा भने कुनै असर परेको देखिँदैन।

मुस्ताङ घुम्न आएका पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन पहिलो गन्तव्य हुने गरेको छ। त्यसपछि भने कोरला नाका, लोमान्थाङ दरबार झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जामसोम, मार्फा र थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गरी फर्किने गरेका छन्।

हिमाली जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा ,जैविक विविधता, रहनसहन र वेषभूषा र हिमाली सम्यताको अवलोकन गर्ने गरेका छन्। पछिल्लो समय नेपाल-चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ।

कात्तिक २२, २०८३ आइतबार १३:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।