नेपालमा भ्रष्टाचारविरुद्ध लड्नेभन्दा भ्रष्टाचारी र बिचौलिया बलिया : प्रचण्ड

नेपालमा भ्रष्टाचारविरुद्ध लड्नेभन्दा भ्रष्टाचारी र बिचौलिया बलिया : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा भ्रष्टाचारविरुद्ध लड्नेहरूभन्दा भ्रष्टाचारी र बिचौलियाहरू नै बलिया रहेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै मुलुकमा राज्य संयन्त्रभन्दा बिचौलिया र भ्रष्टहरू बढी हाबी देखिएको टिप्पणी गरे।

उनले भने, “भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा अभियान चलाइरहेका बेला नेपालमा भ्रष्टाचारविरुद्ध लड्नेहरूभन्दा भ्रष्टाचारी र बिचौलियाहरू नै बलिया रहेछन्।” उनले देशमा पत्रकार, कर्मचारी र राजनीतिक दलका नेताहरूकै भविष्य अनिश्चित बन्दै गएको दाबी गरे।

प्रचण्डले नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गमस्थल कर्णाली क्षेत्र लामो समयदेखि राज्यको उपेक्षामा परेको बताए। उनले खस प्रदेश अर्थात् सिञ्जा उपत्यका र समग्र कर्णाली क्षेत्र देशको पहिचानको जननी भए पनि राज्यको प्राथमिकतामा पर्न नसकेको धारणा राखे।

सामान्यतः कुनै पनि देशले आफ्नो भाषा, संस्कृति र इतिहासको उद्गमस्थललाई विकास निर्माण तथा सांस्कृतिक संरक्षणमा प्राथमिकता दिनुपर्ने भए पनि नेपालमा त्यसको ठिक उल्टो भएको बताए। प्रचण्डले भने, “जहाँबाट नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गम भयो, त्यही ठाउँ नै राज्यद्वारा धेरै वर्षसम्म उपेक्षित भयो र अन्यत्र नै बढी ध्यान केन्द्रित गर्ने कोसिसहरू भयो।”

कर्णालीले देशको राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गर्दै उनले त्यहाँका उत्पीडित वर्ग, दलित, गरिब, मजदुर, किसान र विशेषगरी दलित महिलाहरू विद्रोहको अग्रपङ्क्तिमा उभिएको स्मरण गरे। तर, कर्णालीले गरेको ऐतिहासिक त्याग र बलिदानलाई राज्य र मूलधारका बौद्धिक समुदायले उचित रूपमा स्थापित गर्न नसकेको उनको भनाइ छ।

कर्णालीको योगदानकै कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको भए पनि कतिपय पक्ष त्यसको महत्त्वलाई अझै स्वीकार गर्न तयार नभएको उनले बताए। राजनीतिक परिवर्तनपछि नेपाली जनता रैतीबाट सार्वभौम अधिकार सम्पन्न नागरिकमा रूपान्तरण हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै प्रचण्डले विकासलाई भौतिक पूर्वाधारमा मात्र सीमित गर्न नहुने तर्क गरे। 

नागरिकको चेतना, राजनीतिक अधिकार र निर्णय प्रक्रियामा सहभागिता पनि विकासकै महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो। आफू पहिलो पटक गणतान्त्रिक सरकारको नेतृत्वमा पुग्दा कर्णालीसहितका उपेक्षित क्षेत्रलाई प्राथमिकतामा राखेर मध्यपहाडी लोकमार्ग तथा पूर्व-पश्चिम र उत्तर-दक्षिण जोड्ने सडक करिडोर निर्माण अघि बढाएको उनले स्मरण गरे।

हाल सडक सञ्जाल विस्तार भएसँगै आवतजावत र उत्पादन ओसारपसार सहज भएको उल्लेख गर्दै प्रचण्डले भने, “जुम्लाको स्याउ वा हुम्लाको उत्पादन तराईमा ल्याउने वा तराईको अन्नबाली त्यहाँ पुर्याउन अब त्यति ठूलो महाभारत छैन।” 

कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाटको कर्णाली-चिसापानी बहुउद्देश्यीय आयोजना, तिला-१ र तिला-२ जलविद्युत आयोजना तथा चीनको सहयोगमा हिल्सा-सुर्खेत सडक निर्माण अघि बढाउन सैद्धान्तिक समझदारी भएको जानकारी पनि उनले दिए।  

कात्तिक २१, २०८३ शनिबार १६:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।