भाइटीकाको दिन काठमाडौंसहितका ठाउँमा पानी पर्ने पूर्वानुमान !
काठमाडौं : यमपञ्चक सुरु भएसँगै तिहारको मुख्य दिन भाइटीकाको मौसम कस्तो रहला भन्ने चासो बढेको छ।
टीकाको दिनको मौसमलाई लिएर मौसमविद् डा. विनोद पोखरेल र मौसम पूर्वानुमान महाशाखाबीच केही फरक आकलन देखिएको छ।
मौसमविद् डा. पोखरेलले भाइटीकाका दिन काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हल्का वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै सतर्कता अपनाउन सुझाएका छन्।
तर, मौसम पूर्वानुमान महाशाखाले भने हिमाली भेगका एकाध ठाउँबाहेक अन्यत्र मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरेको छ।
‘भाइटीकामा काठमाडौंसहित धेरै ठाउँमा पानी पर्न सक्छ’
मौसमविद् डा. विनोद पोखरेलका अनुसार केही दिनदेखि चिसो हावा मात्र ल्याइरहेको पश्चिमी वायुको प्रणाली सक्रिय भई वर्षा गराउन थालेको छ।
शनिबार सुदूरपश्चिमको डोटीमा हल्का वर्षा भइसकेको जानकारी दिँदै उनले शनिबार अपराह्नदेखि पश्चिमी पहाडी भेग र अन्य केही स्थानमा बादल लाग्ने तथा पानी पर्न सुरु हुन सक्ने बताएका छन्।
उनका अनुसार आइतबारदेखि थप भूभागमा हल्का वर्षाको सम्भावना बढ्दै जानेछ।
“भाइटीकाको दिन काठमाडौंलगायत धेरै ठाउँमा हल्का वर्षा हुन सक्ने भएकाले बाहिरको कार्यक्रम वा यात्राको योजना बनाउँदा मौसमको पनि ख्याल गर्नुहोला”, पोखरेलले भनेका छन्।
उनले दुईवटा अन्तर्राष्ट्रिय मौसमी मोडलका आधारमा यो पूर्वानुमान गरिएको र समय तथा स्थान फेरिन सक्ने भएकाले नियमित अपडेट हेर्न आग्रह गरेका छन्।
महाशाखाका मौसमविद् भन्छन्- ‘मौसम बिग्रँदैन, कतै फाट्टफुट्ट मात्र’
यता, मौसम पूर्वानुमान महाशाखाले भने तिहार अवधिभर कुनै मौसमी चेतावनी (वार्निङ) जारी गरिरहनुनपर्ने जनाएको छ।
महाशाखाले जारी गरेको पाँचदिने मौसमी बुलेटिनमा आगामी पाँच दिनसम्म कुनै मौसमी प्रतिकूलता वा चेतावनीको अवस्था नरहेको उल्लेख छ।
भाइटीका अर्थात् कात्तिक २५ गते (बुधबार) को मौसमबारे महाशाखाको आधिकारिक बुलेटिनमा भनिएको छ, “देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतः सफा रहनेछ। देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।”
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अनूप नेपालले भाइटीकाका दिन त्यस्तो ठूलो मौसमी फेरबदल वा वर्षाको सम्भावना नरहेको बताएका छन्। उकेरासँग कुरा गर्दै मौसमविद् नेपालले भने, “भाइटीकाको दिन पानी परिहाल्ने त्यस्तो अवस्था देखिँदैन। मौसम नै बिग्रने सम्भावना छैन।”
फाट्टफुट्ट वर्षाको चर्चाबारे प्रस्ट पार्दै उनले भने, “फाट्टफुट्ट भन्नाले सबै ठाउँमा हल्काफुल्का पानी पर्छ भन्ने होइन। कतै पहाडी भेगतिर अनुकूल अवस्था बनेमा एक-दुई ठाउँमा हल्का वर्षा हुन सक्नेबाहेक देशभर मौसम सामान्य र सफा नै रहने देखिन्छ।”
मौसमी प्रणालीमा तत्काल परिवर्तन आउन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र अपडेट नियमित रूपमा लिन उनको आग्रह छ।
कात्तिक २१, २०८३ शनिबार १२:३१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।