एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। जारी प्रतियोगितामा कर्णालीले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। लगातार दुई खेल जितेको कर्णाली पछिल्लो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको थियो।
कर्णाली आज सुदूरपश्चिमलाई पन्छाउँदै तेस्रो जित दर्ता गर्ने रणनीतिमा मैदान उत्रनेछ। अर्कोतर्फ, चार खेलबाट समान दुई जित र दुई हारको नतिजा निकालेको सुदूरपश्चिम पनि कर्णालीलाई हराएर अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा छ।
यसैगरी, अपराह्न ५ बजे सुरु हुने दोस्रो खेलमा पोखरा र चितवन प्रतिस्पर्धा गर्नेछन्। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा जारी लिगमा अहिलेसम्म जितविहीन छ। खेलेका तीनवटै खेलमा पराजय भोगेको पोखरा आज चितवनविरुद्ध जित निकाल्दै अङ्कको खाता खोल्ने दाउमा छ।
उता, चितवन भने कमजोर देखिएको पोखरामाथि जित दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाउने दाउमा छ।
चार खेल खेलिसकेको चितवनले दुईमा जित र एकमा हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अङ्क बाँडेको थियो। जारी प्रतियोगितामा आठ टोली प्रतिस्पर्धामा छन्।
कात्तिक २०, २०८३ शुक्रबार १०:१३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।