ओमानको समुन्द्री क्षेत्रमा भारतीय जहाजमाथि आक्रमण, एक जनाको मृत्यु

ओमानको समुन्द्री क्षेत्रमा भारतीय जहाजमाथि आक्रमण, एक जनाको मृत्यु

एजेन्सी : ओमानको तटमा भारतीय झण्डावाहक मालवाहक जहाजमाथि अज्ञात वस्तुबाट आक्रमण हुँदा गुजरातका २६ वर्षीय एक भारतीय नाविकको मृत्यु भएको छ। यससँगै मध्यपूर्वमा द्वन्द्व सुरु भएयता ज्यान गुमाउने भारतीय नागरिकको संख्या २३ पुगेको छ।

‘एमएसभी अल जुसुफी’ नामक उक्त जहाजमाथि सोमबार अपराह्न ४ बजे ओमानको तटमा आक्रमण भएको हो। आक्रमणमा परेको जहाजमा सवार अन्य १३ जना भारतीय नाविकलाई भने ओमानको तटरक्षक बलले सकुशल उद्धार गरेको छ।

भारतका केन्द्रीय बन्दरगाह, जलमार्गमन्त्री सर्वानन्द सोनोवालले गुजरातका नाविक गन्धर नहिम अजिजको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार ओमानको तटमा यात्रा गरिरहेको जहाजलाई ‘अज्ञात हवाई वस्तु’ ले प्रहार गरेको थियो।

सोनोवालले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “जहाजका १३ जना चालक दलका सदस्य सुरक्षित रूपमा बाहिर निस्किएर ओमानी तटरक्षक बलद्वारा उद्धार भएका छन्। तर, गुजरातका हाम्रा एक नाविक गन्धर नहिम अजिजको चोटका कारण दुखद निधन भएको जानकारी गराउन पाउँदा म अत्यन्तै मर्माहत छु।”

भारतको विदेश मन्त्रालयले ओमानको लिमाह नजिक भएको आक्रमणको निन्दा गर्दै ज्यान गुमाएका नाविकप्रति समवेदना व्यक्त गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि लगातार भइरहेका आक्रमणका घटनाहरू अत्यन्तै चिन्ताजनक छन्। हामी तनाव तत्काल कम गर्न र कूटनीतिक समाधानका लागि जारी वार्तालाई निष्कर्षमा पुर्याउन पुनः आह्वान गर्दछौँ, ताकि यस क्षेत्रमा शान्ति र स्थिरता पुनःस्थापित हुन सकोस्।”

विज्ञप्तिमा थप भनिएको छ, “यस क्षेत्रमा व्यावसायिक जहाज र नागरिक पूर्वाधारलाई निशाना बनाउने कार्य अन्त्य हुनुपर्छ। अन्तर्राष्ट्रिय कानुनअनुरूप यस क्षेत्रका अन्तर्राष्ट्रिय जलमार्गबाट निर्बाध रूपमा आवतजावत र व्यापार सञ्चालन हुने अवस्था यथाशीघ्र पुनःस्थापित गरिनुपर्छ।”

समुद्री प्रशासन निर्देशनालयले तयार पारेको प्रतिवेदनअनुसार जहाजमाथि प्रहार भएपछि चालक दलका सबै १४ सदस्यले लाइफ र्याफ्ट (आपत्कालीन उद्धार डुङ्गा) को सहायताले जहाज छाडेका थिए। घाइते अजिजलाई ओमानको खासाब बन्दरगाहस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। मृतक गुजरातको देवभूमि द्वारकास्थित सलायाका बासिन्दा हुन्।

प्रतिवेदनअनुसार उक्त जहाज अक्टोबर ३१ बिहान १०:११ बजे संयुक्त अरब इमिरेट्स (यूएई) को हमरिया बन्दरगाहबाट गुजरातको पोरबन्दरका लागि प्रस्थान गरेको थियो।

उद्धार गरिएका भारतीय नागरिक र मृतक नाविकको शव स्वदेश फिर्ता ल्याउन भारतको ओमानस्थित दूतावासले ओमानी अधिकारीहरूसँग समन्वय गरिरहेको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा अहिलेसम्म ज्यान गुमाउने २३ भारतीयमध्ये १५ जना समुद्री नाविक रहेका छन्।

व्यापारिक जहाजहरूमाथि भएका आक्रमणपछि कयौं भारतीय नाविकहरू बेपत्ताको सूचीमा समेत परेका छन्। भारतमा तीन लाख २० हजारभन्दा बढी समुद्री नाविक कार्यरत छन्। फिलिपिन्सपछि विश्वमै सबैभन्दा धेरै समुद्री नाविक भएको देश भारत हो। तीमध्ये १८ हजारभन्दा बढी नाविक मध्यपूर्वी क्षेत्रमा सञ्चालन भइरहेका जहाजमा कार्यरत छन्।

कात्तिक १७, २०८३ मंगलबार १३:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।