भारतीय विदेश सचिव मिश्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
काठमाडौं : नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र परराष्ट्रमन्त्री शिशिर खनालबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक मित्रता तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउने विषयमा गहन छलफल भएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले दुई देशबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्ध आगामी दिनमा थप सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे।
त्यस अवसरमा दुई पक्षबीच ऊर्जा, हवाई उड्डयन (एभिएसन), व्यापार तथा पारवहन, खेलकुद र शिक्षा लगायतका विविध क्षेत्रमा पारस्परिक सहकार्य विस्तार गर्नेबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालसँगको भेटपछि विदेश सचिव मिश्रीले भोलि (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
कात्तिक १८, २०८३ बुधबार १३:२७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।