धनकुटाको लेगुवा बजारमा छड्के अनुगमन, ४७ हजार बढीका अखाद्य तथा म्याद गुज्रिएका अखाद्य वस्तु जफत
धनकुटा : चाडपर्व नजिकिँदै गर्दा धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारका किराना तथा खुद्रा पसलहरूमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्री भइरहेको पाइएको छ।
बजार अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्यवस्तु बिक्रीका लागि राखिएको फेलापरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशिल कोइरालाले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले लेगुवाका करिब एक दर्जन पसलहरूमा गरेको छड्के अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने ४७ हजार ४४० मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका हुन्।
अनुगमन टोलीका अनुसार विशेषगरी लेगुवास्थित ‘सौगात जनरल किराना पसल’मा अत्यधिक मात्रामा उपभोग्य मिति सकिएका खाद्य तथा पेय पदार्थ भेटिएका थिए। अन्य पसलहरूमा भने म्याद गुज्रिएका सामग्री नगन्य मात्रामा फेला परेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रतिनिधि दिवस खड्काले जानकारी दिए। फेला पारिएका सबै अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको छ।
अनुगमनका क्रममा व्यवसायीहरूले पसलमा सामान राख्दा र बिक्री गर्दा उपभोग्य मिति जाँच गर्ने सामान्य नियमसमेत पालना नगरेको पाइएको खाद्य निरीक्षण अधिकारी सुशिल कोइरालाले बताए। म्याद गुज्रिएका सामग्रीबाहेक केही पसलहरू बिना दर्ता सञ्चालनमा रहेको, मूल्यसूची नराखिएको र ग्राहकलाई बिक्री बिलसमेत उपलब्ध नगराएको पाइएको छ।
टोलीले सम्बन्धित व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्रै व्यवसाय सञ्चालन गर्न, मूल्यसूची अनिवार्य राख्न र प्रत्येक कारोबारमा बिल उपलब्ध गराउन निर्देशन दिएको छ। म्याद गुज्रिएका खाद्यवस्तु बिक्री नगर्न र आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन सम्बन्धित पसल सञ्चालकलाई सचेत गराइएको छ।
चाडपर्वका बेला बजारमा वस्तुको माग र कारोबार बढ्ने हुँदा उपभोक्ता ठगिनबाट जोगिऊन र बजारमा स्वच्छता कायम रहोस् भन्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको अनुगमन टोलीले जनाएको छ।
कात्तिक १८, २०८३ बुधबार १३:३२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।