एक साताभित्रै दोस्रो चक्रवात 'मुरासु'को असर : पूर्वी भारतमा भारी वर्षा, हजारौँ मानिस सुरक्षित स्थलमा सारिए

एक साताभित्रै दोस्रो चक्रवात 'मुरासु'को असर : पूर्वी भारतमा भारी वर्षा, हजारौँ मानिस सुरक्षित स्थलमा सारिए

एजेन्सी : एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मङ्गलबार भारी वर्षा भएको छ।

बङ्गालको खाडीमा विकसित 'मुरासु' नाम दिइएको चक्रवात मङ्गलबार बिहान आन्ध्र प्रदेशको प्रकाशम जिल्लास्थित ओङ्गोल तटीय क्षेत्रबाट प्रवेश गरेको भारतीय मौसम विभागले जनाएको छ । तटीय क्षेत्रमा प्रवेश गर्दा आँधीको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर मापन गरिएको थियो।

चक्रवातका कारण हुन सक्ने ठूलो विपद्लाई ध्यानमा राख्दै स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका हजारौँ बासिन्दालाई सुरक्षित आश्रयस्थलमा सारेको छ। सम्भावित क्षति न्यूनीकरणका लागि तटीय क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् भने रेल सेवा र केही आन्तरिक उडानहरूसमेत स्थगित गरिएका छन् ।

चक्रवात कमजोर हुँदै गए पनि त्यसपछि केही घण्टासम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। अधिकारीहरूले वर्षाका कारण तल्लो क्षेत्रमा बाढी आउनुका साथै जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। भारतीय मौसम विभागका अनुसार तटीय क्षेत्रमा १.५ मिटरसम्म अग्लो समुद्री छाल उठ्न सक्ने सम्भावना छ।​​​​​​​

बङ्गालको खाडीको न्यानो समुद्री पानीका कारण यस क्षेत्रमा लगातार शक्तिशाली चक्रवातहरू उत्पन्न भइरहेका छन्, जसले पूर्वी भारतका साथै बङ्गलादेश र म्यान्मामा ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ।

यसअघि गत साता चक्रवात अर्नबले आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा क्षति पुर्याएको थियो। उक्त चक्रवातका कारण पाँच जनाको मृत्यु भएको थियो भने घर तथा पूर्वाधारमा क्षति पुगेको थियो। साथै, करिब दुई लाख एकड खेतीयोग्य जमिन डुबानमा परेको थियो।

कात्तिक १७, २०८३ मंगलबार १२:४९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।