अमेरिकी मध्यावधि चुनाव : ट्रम्पको अग्निपरीक्षा, संसद् नियन्त्रणका लागि मतदान

अमेरिकी मध्यावधि चुनाव : ट्रम्पको अग्निपरीक्षा, संसद् नियन्त्रणका लागि मतदान

एजेन्सी : अमेरिकी संसद् (कंग्रेस) को नियन्त्रण कसको हातमा जाने भन्ने छिनोफानो गर्न मंगलबार अमेरिकाभर मध्यावधि निर्वाचनका लागि मतदान भइरहेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष बाँकी छँदा भएको यो चुनावलाई उनको राजनीतिक भविष्य र बाँकी कार्यकालको प्रभावकारिता तय गर्ने महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।

यस पटकको निर्वाचनमा अमेरिकी मतदाताका लागि महँगी, दैनिक उपभोग्य वस्तुको उच्च मूल्य र इन्धनको मूल्यवृद्धि सबैभन्दा ठूलो मुद्दा बनेको छ।

ट्रम्प प्रशासनले लगाएको आक्रामक विश्वव्यापी ट्यारिफ र इरानसँगको अलोकप्रिय युद्धका कारण इन्धनको भाउ कीर्तिमानी विन्दुमा पुगेको छ।

यसले गर्दा राष्ट्रपति ट्रम्पको लोकप्रियता घटेर करिब ३८ प्रतिशतमा झरेको छ। परम्परागत रूपमा रिपब्लिकन पार्टीको पकड रहेका आयोवा, कान्सास र टेक्सासजस्ता राज्यहरूमा समेत रिपब्लिकनहरूले रक्षात्मक बन्दै अत्यधिक चुनावी खर्च गर्नुपरेको छ।

संसद्को अंकगणित र डेमोक्र्याटको सम्भावना
महँगीप्रतिको जनआक्रोशका कारण तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभ्समा विपक्षी डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गर्ने सम्भावना बलियो देखिएको छ।

माथिल्लो सदन सिनेटको प्रतिस्पर्धा भने निकै कडा र अनिश्चित छ।

३५ सिटमा भइरहेको प्रतिस्पर्धामा सिनेटमा नियन्त्रण बनाउन डेमोक्र्याटहरूलाई थप ४ सिट जित्नुपर्ने हुन्छ। मिशिगन, टेक्सास, ओहायो, आयोवा र नर्थ क्यारोलाइना लगायतका राज्यहरूमा दुई पार्टीबिच कडा टक्कर छ।

यद्यपि, ट्रम्पसँग असन्तुष्ट रहेका सबै मतदाताले डेमोक्र्याटलाई नै मत दिन्छन् भन्ने निश्चित छैन।

मत सर्वेक्षणहरूमा डेमोक्र्याटिक पार्टीको लोकप्रियता पनि जम्मा २९ प्रतिशत मात्र देखिएकाले मतदाताहरू दुवै दलसँग पूर्ण रूपमा सन्तुष्ट नरहेको देखिन्छ।

यदि डेमोक्र्याटहरूले तल्लो सदनमा जित हासिल गरेमा उनीहरूले ट्रम्पका नीतिहरूलाई रोक्ने मात्र नभई प्रशासनविरुद्ध विभिन्न संसदीय छानबिन सुरु गर्न सक्छन्।

विशेषगरी इरान युद्धलाई लिएर रक्षामन्त्री पिट हेगसेथमाथि महाभियोग लगाउनेसम्मको तयारी डेमोक्र्याटहरूको हुन सक्छ।

यो निर्वाचनलाई सन् २०२८ मा हुने आगामी राष्ट्रपति चुनावको ‘पूर्वाभ्यास’ का रूपमा समेत हेरिएको छ, जसले आगामी दिनमा ‘ट्रम्पपछिको अमेरिकी राजनीति’ कुन दिशामा अघि बढ्छ भन्ने स्पष्ट संकेत गर्नेछ।

कात्तिक १७, २०८३ मंगलबार ११:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।