लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त
काठमाडौं : सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ।
पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा सक्रिय व्यक्ति हुन्। उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनका क्षेत्रमा काम गर्दै आएका छन्।
पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए। महानगरपालिकामा रहँदा उनले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गरेका थिए।
त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए। त्यहाँ रहँदा उनी भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्डको परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालिम प्रदान गर्ने काममा संलग्न थिए।
त्यस्तै, उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए। उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा योगदान दिएका थिए। -रासस
कात्तिक १७, २०८३ मंगलबार १९:५२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।