पत्रकारमाथिको धरपकडबारे सरकारका प्रवक्ताले झुट बोले, प्रहरीको आन्तरिक कुरा भन्दै पन्छिए

पत्रकारमाथिको धरपकडबारे सरकारका प्रवक्ताले झुट बोले, प्रहरीको आन्तरिक कुरा भन्दै पन्छिए

काठमाडौं : शुक्रवार समाचार कक्षभित्रै प्रवेश गरेर तीन पत्रकार पक्राउ र दुई पत्रकारको पक्राउको प्रयासको घटनालाई सरकारका प्रवक्ता सस्मित पोखरेल प्रहरीको आन्तरिक कुरा भन्दै पन्छिएका छन्। मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रममा केही पत्रकारले सोधेको प्रश्नको उत्तरमा उनले यस्तो दाबी गरेका हुन्।

उनले यसलाई प्रहरीको कतिपय  आन्तरिक सूचना चुहिएकाले सूचना कहाँबाट आयो, आइजिपीलाई राजिनामा दिन निर्देशनबारेको गलत समाचार तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्न कसैसँग सल्लाह गरेको उनको दाबी थियो। उनले यसका लागि प्रहरीले सरकारसँग पूर्व अनुमति नलिएको र त्यसमा सरकार वा प्रधानमन्त्रीलाई केही थाहा नभएको उनको दाबी थियो।

"प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ पोखरेलले दाबी गरे। उनले प्रधानमन्त्री वालेन्द्र शाहले यसबारे जानकारी पाए लगत्तै पत्रकारलाई सोधपुछ गर्नेगरी हिरासतमा नराख्न निर्देशन दिएको दाबी गर्दै कसैलाई गिरफ्तार वा नियन्त्रणमा समेत नलिएको दाबी गरे।

उनले कसैलाई नियन्त्रणमा नलिएको दाबी गरे पनि प्रहरी नेपालप्रेससहित तीन मिडियाको समाचार कक्षमै छिरेर पत्रकार विश्वमणि सुवेदीसहितलाई नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्याएको थियो। नयाँ पत्रिका र दियो पोस्टको पत्रकार पक्राउ गर्न सादा पोसाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेका थिए।

कात्तिक १७, २०८३ मंगलबार १८:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।