धानको बिस्कुनले पहेँलपुर योंसिखेल

धानको बिस्कुनले पहेँलपुर योंसिखेल

काठमाडौं : शरद ऋतुको सफा आकाश, न्यानो घाम र तिहारको सामीप्यता। दशैंको उल्लास सकिएलगत्तै भक्तपुरका किसानहरूलाई खेतको पसिना घर भित्र्याउने हतारो छ।

भक्तपुरस्थित योंसिखेलको खुला मैदानहरू पहेँलपुर धानको बिस्कुनले ढाकिएका छन्, जहाँ व्यस्त किसानहरूको दृश्य देखिन्छ।

दशैंको छेको पारेर खेतमै चुटेर ल्याइएको धान सुकाउने, केलाउने र थन्क्याउने यतिबेला स्थानीय किसानहरूको दैनिकी बनेको छ। योंसिखेलको खुला ठाउँमा पुग्दा लाग्छ- धर्तीमा कसैले सुनको विशाल गलैँचा ओछ्याइदिएको झैँ आभास हुन्छ।

सहरीकरणका कारण काठमाडौं उपत्यकामा खुला ठाउँहरू तीव्र गतिमा मासिरहँदा योंसिखेलले भने भक्तपुरको परम्परागत कृषि जीवनशैली र सामूहिक भावनालाई अझै जीवित राखेको छ। यहाँ टोलभरिका बासिन्दाहरू मिलेर आपसमा बिस्कुन सुकाउने गर्छन्, जहाँ कामसँगै सुखदुःख साट्ने थलो पनि बनेको छ, यो मैदान।

बिहानको खाना खाएपछि चर्किँदै गएको घामसँगै किसानहरूको व्यस्तता सुरु हुन्छ। मैदानभरि फिँजाइएका धानलाई ओल्टाइपल्टाइ गर्न थाल्छन्, ताकि धान राम्रोसँग सुक्न पाओस्। त्यसपछि हावाको चाल मिलाएर नाङ्लोले धान निफन्दै फोहोर छुट्याउनेहरूको लयबद्ध दृश्यले जोकोहीको ध्यान खिच्छ।

धान सुकाउने काम केवल परम्परा मात्र होइन, यसमा किसानहरूको वैज्ञानिक र व्यावहारिक ज्ञान जोडिएको छ। खेतबाट भर्खरै चुटेर ल्याइएको नयाँ धानलाई पर्याप्त घाममा नसुकाई भण्डारण गरे धानमा घुन वा पुत्ला लाग्ने, ढुसी पर्ने र सड्ने तथा बिग्रने सम्भावना रहन्छ। त्यसैले वर्षभरिको मिहिनेत गरेर आर्जन गरेको धानलाई सुरक्षित गर्न भण्डारण गर्नुअघि कम्तीमा २ देखि ३ दिन घाम राम्ररी सुकाउनु पर्दछ।

दिनभरिका चरण पुरा गरेपछि घाम अस्ताउँदै गर्दा योंसिखेलमा झनै चलायमान दृश्य देखिन्छ। धान सुकाउने, सुकाइएको धान ओल्टाइपल्टाइ गर्ने, सुकेको धान निफन्ने काम सकिएपछि साँझ परेसँगै धान भण्डारण गर्नतिर उनीहरू व्यस्त हुन्छन्। निधारबाट बगेको पसिना पुछ्दै बोरा कस्दै गरेका किसानका आँखामा भने थकानभन्दा बढी वर्षभरिको अन्न भण्डारण गरेकोमा सन्तुष्टि झल्किन्छ।

कात्तिक १७, २०८३ मंगलबार १९:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।