संसद् बैठक तत्काल बोलाउन सभामुख समक्ष कांग्रेस र एमालेको आग्रह

संसद् बैठक तत्काल बोलाउन  सभामुख समक्ष कांग्रेस र एमालेको आग्रह

काठमाडौं : नेपाली कांग्रेस र एमालेले संसद्को बैठक तत्काल बोलाउन सभामुख डोलप्रसाद (डीपी) अर्याल समक्ष आग्रह गरेका छन्।

सोमबार सभामुख अर्यालसँगको भेटमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशका समसामयिक राजनीतिक विषय र जनसरोकारका मुद्दामा छलफल गर्न संसद्को बैठक तत्काल बोलाउन आग्रह गरे। 

भेटका क्रममा नेता आङ्देम्बेले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने र कानुन ल्याउने परिपाटी लोकतान्त्रिक मूल्य-मान्यता र मर्म विपरीत हुने स्पष्ट पारे। उनले हालै भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण प्रभावित भएका नागरिकका समस्या र राहत-पुनर्स्थापनाका विषयमा पनि संसद्‌मा तत्काल छलफल हुनुपर्ने बताए। 

आजै  सभामुख अर्यालसँग एमाले संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले पनि भेट गरे। सभामुखको कार्यकक्षमा भएको भेटमा अर्याल र बरालले संसद बैठक तत्काल बोलाउन आग्रह गरे।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता अर्यालले जनताका समस्या उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रमुख थलो संसद भएकाले बैठक तत्काल बोलाउन आग्रह गरिएको बताइन्।

उनले पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने तथा समाचारको स्रोत खोज्ने कार्य लोकतन्त्रका लागि गम्भीर विषय भएको बताइन्। त्यस्तै, महँगी नियन्त्रण, ग्यास अभाव र जनजीविकासँग जोडिएका समस्याबारे संसदमा छलफल हुनुपर्ने उनको भनाइ थियो।

"संसद जीवितै छ, संसद क्रियाशील बनाउन सकिन्छ। अध्यादेशबाट होइन, संसदबाट नै कानुन निर्माण गर्ने कुरा, जनताका समस्यालाई मुखरित गर्ने कुरा र सरकारलाई जवाफदेही बनाउने काम संसदले नै गर्ने हो," उनले भनिन्।

अर्यालका अनुसार सभामुखले आफू संसद् आह्वानको तयारीमा रहेको र छिट्टै बैठक बोलाउने बताएका छन्।

प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका पछिल्ला समाचारबारे एमाले गम्भीर रहेको उल्लेख गर्दै उनले निष्पक्ष छानबिन हुनुपर्ने बताइन्। 

"समाचार आउँदैमा सबै दोषी हुन् भन्ने निष्कर्षमा पनि हामी पुग्न सक्दैनौँ। आएका समाचार सबै सत्य हुन्छन् भन्ने पनि हुँदैन," उनले भनिन्, "पहिलो नम्बरमा छानबिन हुनुपर्छ भन्ने नेकपा एमालेको कुरा हो।"

कात्तिक १७, २०८३ मंगलबार १७:५८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।