ठेक्का भुक्तानीमा सहजीकरणको बदलामा ३३ लाख घुस, प्रशासकीय अधिकृत घिमिरेसहित दुई जना पक्राउ

ठेक्का भुक्तानीमा सहजीकरणको बदलामा ३३ लाख घुस, प्रशासकीय अधिकृत घिमिरेसहित दुई जना पक्राउ

काठमाडौं : ठेक्का सम्झौताबमोजिम मोबिलाइजेसन फण्ड भुक्तानी र बाँकी काममा सहजीकरण गरिदिने भनेर घुस लिएको आरोपमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित दुई जना पक्राउ परेका छन्। 

सोमबार ३३ लाख घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका उनीहरूलाई मंगलबार विशेष अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। अख्तियारको टोलीले घिमिरेसँगै काठमाडौंको कोटेश्वरस्थित ‘गुड नेवर्स इन्टरप्राइजेजका सञ्चालक वरुण ढुंगेललाई समेत पक्राउ गरेको थियो।

उनीहरू दुवै जनालाई सोमबार मध्यपुर थिमी नगरपालिका-९ निकोसेराबाट घुस लिएको ३३ लाख रुपैयाँसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। ठेक्का सम्झौताबमोजिमको नियमानुसार बाँकी किस्ताको मोबिलाइजेसन फण्ड भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएको र बाँकी काममा समेत सहज बनाइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस माग गरिएका थिए। 

सोही सूचना तथा उजुरी निवेदन परेपछि टङ्गालस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले रकम बुझिसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। पक्राउ परेका अधिकृत घिमिरे र व्यवसायी ढुंगेलमाथि घुस भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

कात्तिक १७, २०८३ मंगलबार १६:५६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।