युक्रेनको राहत वितरण केन्द्रमा रुसको बमबारीमा २६ जनाको मृत्यु, उद्धारकर्मी र प्रहरी पनि परे

युक्रेनको राहत वितरण केन्द्रमा रुसको बमबारीमा २६ जनाको मृत्यु, उद्धारकर्मी र प्रहरी पनि परे

एजेन्सी : दक्षिणी युक्रेनको जापोरिजिया क्षेत्रस्थित एक मानवीय सहायता (राहत) वितरण केन्द्रमा रुसले गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस आक्रमणलाई ‘अत्यन्तै भयानक’ भन्दै कडा शब्दमा निन्दा गरेका छन्।

जापोरिजियाको कोमिसुभाखा गाउँमा रुसी सेनाले कम्तीमा नौवटा ३,००० किलोग्राम तौल भएका शक्तिशाली हवाई बम खसालेको क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनले जानकारी दिएका छन्। राहत बाँड्न प्रयोग गरिएको स्थानीय विद्यालयमा पहिलो प्रहार भएपछि नागरिकहरू ओत लागेर लुकेको आश्रयस्थलमा रुसले दोस्रो पटक बम खसालेको थियो।

युक्रेनको आपत्कालीन सेवा (डीएसएनएस) का अनुसार भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको छ, जसमा दुई जना उद्धारकर्मी र चार जना प्रहरी अधिकारीसमेत छन्। आक्रमणमा पाँच जना घाइते भएका छन् भने धेरै मानिस अझै भग्नावशेषमुनि पुरिएको आशंका गरिएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ।

उद्धार कार्य जारी रहे पनि आकाशमा लगातार रुसी ड्रोनहरू मडारिएका कारण उद्धार टोलीले पटक-पटक काम रोक्नुपरेको अधिकारीहरूले बताएका छन्। यस घटनाको शोकमा मंगलबार जापोरिजिया क्षेत्रभर शोक मनाउने घोषणा गरिएको छ।

घटनाप्रति आक्रोश व्यक्त गर्दै राष्ट्रपति जेलेन्स्कीले स्थानीयले हरेक सोमबार सोही स्थानबाट राहत लिने गरेको कुरा रुसलाई पहिलेदेखि नै थाहा भएको बताए। "यो आक्रमणले रुस युद्ध रोक्न र शान्ति कायम गर्न पटक्कै चाहँदैन भन्ने अर्को प्रमाण दिएको छ," उनले भने। रुसी सेनाले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

अर्को साता संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा युक्रेन, रुस र अमेरिकाबीच पुनः शान्ति वार्ता सुरु हुने तयारी भइरहँदा यो आक्रमण भएको हो।

अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार अबुधाबी वार्ता युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण र मानवीय सहायताका विषयमा केन्द्रित हुनेछ। यद्यपि, वार्ताबाट तत्काल कुनै ठूलो युद्धविराम वा सम्झौताको सम्भावना भने निकै न्यून देखिएको छ।

कात्तिक १७, २०८३ मंगलबार ०८:००:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।