चिसो मैदानमा खेलाइएको खेलबारे रदरफोर्डको खुलासा- ‘मैले खेल्दिनँ भनेको थिएँ,म्यानेजरले खेल्नैपर्छ भनेपछि खेलेँ’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत गत शनिबार राति कीर्तिपुरस्थित त्रिवि मैदान हिलाम्मे हुँदाहुँदै खेलाइएको विवादित खेलबारे सुदूरपश्चिम रोयल्सका वेस्ट इन्डिज स्टार शेर्फेन रदरफोर्डले गम्भीर खुलासा गरेका छन्।
हिलाम्मे र जोखिमपूर्ण मैदानमा खेल्न आफूले ठाडै अस्वीकार गरे पनि टिम म्यानेजरको दबाबका कारण मैदान उत्रिन बाध्य भएको उनले बताएका हुन्।
सोमबार चितवन राइनोजलाई हराएपछिो पत्रकार सम्मेलनमा बोल्दै रदरफोर्डले खेलाडीको सुरक्षा र क्रिकेटको मर्यादाका हिसाबले उक्त मैदान कुनै पनि हालतमा खेल्नयोग्य नरहेको स्पष्ट पारे।
“क्रिकेट र खेलाडीको सुरक्षाको दृष्टिकोणबाट हेर्दा त्यो मैदान खेल्नका लागि उपयुक्त नै थिएन,” रदरफोर्डले पत्रकार सम्मेलनमा भने, “व्यक्तिगत रूपमा मैले म्यानेजरलाई गएर ‘म यो खेल खेल्न चाहन्नँ’ भनेको थिएँ। तर उनले ‘जे भए पनि खेल’ भने। म आफ्नो टोलीलाई माया गर्छु र टोलीका लागि जे पनि गर्न तयार हुन्छु। त्यसैले जोखिम मोलेर मैदान उत्रिएँ।”
गत शनिबार भारी वर्षाका कारण त्रिवि मैदानको मिडिया बक्स र भीआईपी कक्षबाट भेल र लेदो मैदानभित्र पसेपछि मैदान हिलाम्मे बनेको थियो।
खेलाडीहरूको सुरक्षा जोखिममा परेपछि सुदूरपश्चिमका खेलाडीहरू मैदान उत्रिन नमानेपछि करिब एक घण्टाभन्दा बढी समय खेल अन्योलमा परेको थियो।
अन्ततः एनपीएल गभर्निङ काउन्सिलका संयोजक तथा क्याच सचिव पारस खड्का नै लागेर कटअफ समयभन्दा डेढ घण्टा पछि राति ९ बजेर ५ मिनेटमा टस गरेर ५-५ ओभरमा छोट्याइएको उक्त खेलमा सुदूरपश्चिम विराटनगर किङ्ससँग पराजित हुन पुगेको थियो।
खेलाडीको करिअर नै जोखिममा पर्ने गरी जबर्जस्ती खेलाइएको उक्त खेलबारे रदरफोर्डले भने, “हामीले चाहेजस्तो नतिजा आएन, तर त्यस्तो अवस्थामा पनि मैदानमा गएर खेल्नु हाम्रो टोलीको ठूलो साहस थियो। खेल सकिएपछि हामीले बैठक बसेर जे हुनु भइहाल्यो, अब त्यसलाई बिर्सिएर बलियो रूपमा कमब्याक गर्नुपर्छ भनेर सल्लाह गर्यौं।”
कात्तिक १६, २०८३ सोमबार २२:०३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।