एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
काठमाडौं : गुगलले आफ्नो एआई प्लेटफर्म जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ।
यो नयाँ सुविधासँगै प्रयोगकर्ताहरूले जेमनाई च्याटभित्रै फाइलहरू सिर्जना गर्ने, प्रिभ्यु हेर्ने र एडिटिङ गर्न सक्नेछन्।
प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो। गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने सुविधा ल्याएको थियो।
नयाँ अपडेट पश्चात जेमनाईमार्फत पीडीएफ, गुगल डक्स, गुगल सिट्स, स्लाइड डेक/प्रिजेन्टेसन, लेटेक्स, मार्कडाउन, टीएक्सटी फाइल र प्रोग्रामिङ कोड एडिट गर्न सकिने भएको छ ।फाइललाई पूर्ण स्क्रिनमा खोलेर सामग्री परिवर्तन गर्न सकिनेछ ।
त्यस्तै, फाइलको कुनै निश्चित अंश छानेर त्यसबारे प्रश्न सोध्न, पाठ वा दृश्य सामग्री परिमार्जन गर्न र सम्पादनकै क्रममा थप निर्देशन दिन सकिनेछ। यसले एआईबाट तयार पारिएको सामग्रीलाई आवश्यकताअनुसार सुधार गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
यद्यपि, सबै फाइल सम्पादन सुविधा मोबाइलमा उपलब्ध छैनन्। पीडीएफ हेर्ने र एडिटिङ सुविधा वेब तथा मोबाइल दुवै संस्करणमा उपलब्ध छ। तर, गुगल डक्स, गुगल सिट्स, स्लाइड, मार्कडाउन, टीएक्सटी र कोड फाइल सम्पादन गर्ने सुविधा भने हाल वेब संस्करणमा मात्र उपलब्ध रहेको जीएसएम एरिनाले जनाएको छ।
त्यस्तै, प्रिजेन्टेसनको आउटलाइन सिर्जना गर्ने, लेआउट प्रिभ्यु गर्ने, टोन र फर्म्याट मिलाउने तथा सिधै गुगल स्लाइड्समा खोल्ने वा पीपीटीएक्स र पीडीएफमा डाउनलोड गर्ने सुविधा छ ।
यो सुविधा जेमिनाई एपमा उपलब्ध सबै भाषामा प्रयोग गर्न सकिनेछ। नयाँ सुविधाले सामग्री निर्माणदेखि सम्पादनसम्मको काम एउटै च्याटमा गर्न सकिने बनाएको छ।
कात्तिक १६, २०८३ सोमबार १०:३१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।