कुशल आउट हुनु र त्रित-अभिषेकको इनिङ्स नै टर्निङ पोइन्ट बन्यो : विपिन खत्री

कुशल आउट हुनु र त्रित-अभिषेकको इनिङ्स नै टर्निङ पोइन्ट बन्यो : विपिन खत्री

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार बेहोरेपछि टोलीका अलराउन्डर विपिन खत्रीले पावरप्लेमा कप्तान कुशल भुर्तेलको विकेट गुम्नु र विपक्षी टोलीका पूर्व सहकर्मीहरूको उत्कृष्ट प्रदर्शन नै हारको मुख्य कारण बनेको बताएका छन्।

जनकपुर बोल्ट्सविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विपिनले खेलका विविध पक्ष, खेलाडीको चोट, अम्पायारिङ निर्णय तथा टोलीको आगामी रणनीतिका बारेमा खुलेर कुरा गरे।

टियु क्रिकेट मैदानको पिच स्पिनरमैत्री र केही स्लो रहेको उल्लेख गर्दै विपिनले भने, "हाम्रो सुरुवात राम्रो नै थियो। कुशल आज निकै राम्रो लयमा देखिएका थिए। उनले प्रहार गरेका सटहरू ग्यापमा गइरहेका थिए। तर दुर्भाग्यवश, प्रहार गर्नैपर्ने बलमा उनी आउट हुन पुगे। यस्तो विकेटमा सेट ब्याटर लामो समय टिकेको भए पछिल्ला ब्याट्सम्यानलाई सहज हुन्थ्यो। तर मध्यक्रममा लगातार विकेट गुम्दा रनरेटको दबाब बढ्न पुग्यो।"

पूर्व सहकर्मीहरूको इनिङ्सले खेल खोस्यो
पोखराका लागि अघिल्लो संस्करण खेलिसकेका त्रितराज दास र अभिषेक तिवारीले यसपटक जनकपुरबाट उत्कृष्ट प्रदर्शन गरे। यसबारे सोधिएको प्रश्नमा विपिनले विपक्षीको तारिफ गरे।

"त्रितले पावरप्लेमा मोइन अलीसँग मिलेर राम्रो साझेदारी गरे र दबाब झेल्दै इनिङ्स सम्हाले। अन्त्यमा अभिषेक तिवारीले खेलेको आक्रामक क्यामियोले खेललाई उनीहरूको पक्षमा ढल्कायो। घरेलु क्रिकेटमा हामी एकअर्काविरुद्ध खेलिरहने भएकाले पूर्व खेलाडी भन्ने कुराले धेरै फरक पार्दैन, तर उनीहरूले आज निकै परिपक्व इनिङ्स खेले", उनले भने।

सागर ढकालको अनुपस्थिति र आफ्नो बलिङमा आत्मालोचना
स्पिनर सागर ढकाल प्रशिक्षणका क्रममा घाइते भएका कारण खेल्न नसकेको खुलाउँदै उनले यसको असर टिम कम्बिनेसनमा परेको बताए। ढकाल छिट्टै मैदान फर्किने विश्वास व्यक्त गर्दै विपिनले आफ्नै बलिङप्रति पनि आत्मालोचना गरे।

"पछिल्ला दुई सिजनदेखि म टोलीलाई पावरप्लेमै ब्रेकथ्रु दिलाउँदै आएको थिएँ। आज पनि पिचले सहयोग गरिरहेको थियो तर मैले आवश्यक समयमा विकेट निकाल्न सकिनँ। टिमले मबाट धेरै अपेक्षा गरेको थियो, त्यसमा म चुकेँ," उनले भने।

अर्जुन कुमाल किन बेन्चमा ?
युवा ओपनर अर्जुन कुमाललाई प्लेइङ-११ मा नराखिएको विषयमा विपिनले स्पष्टीकरण दिए। टोलीको व्यवस्थापनले दायाँ-बायाँ कम्बिनेसन र पछिल्ला दुई सिजनदेखि राम्रो प्रदर्शन गर्दै आएका दिनेश खरेललाई प्राथमिकता दिएको उनले बताए।

"हामीसँग नेपाली खेलाडीहरूको लामो स्क्वाड छ। अर्जुन निकै राम्रा ब्याट्सम्यान हुन्, तर प्रतियोगिता लामो छ। उनले धैर्य राखेर आफ्नो पालो कुर्नुपर्छ, व्यवस्थापनले सबैलाई उपयुक्त मौका दिनेछ", विपिनले प्रस्ट पारे।

मध्यक्रमका ब्याटर किरण ठगुन्नाको आउट र केही अम्पायर्स कलहरू आफ्नो पक्षमा नआउँदा पनि टोलीलाई केही घाटा भएको विपिनको ठम्याइ थियो। यद्यपि, क्रिकेटमा यस्ता प्राविधिक कुराहरू भइरहने भन्दै उनले अब आगामी खेलहरूमा गल्ती सच्याएर पुनरागमन गर्ने दृढता व्यक्त गरे।

कात्तिक १५, २०८३ आइतबार २१:५६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।