नेपालको पर्यटन विश्वमाझ चिनाउन टिकटक र पर्यटन बोर्डको सहकार्य, सात देशका 'कन्टेन्ट क्रिएटर' नेपालमा
काठमाडौं : नेपालका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म 'टिकटक' बीच सहकार्य भएको छ। यसै अभियानअन्तर्गत नेपालका विविध पर्यटकीय पक्षहरूलाई सामाजिक सञ्जाललागतयका डिजिटल माध्यमबाट विश्वभर पुर्याउने लक्ष्यका साथ सात देशका प्रसिद्ध ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका क्रिएटरहरूलाई नेपाल बोलाइएको बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार, युएई र ट्युनिसियाका तीन जना पोखरामा तथा अन्य क्रिएटरहरू काठमाडौंमा रहेर सामग्री उत्पादन गरिरहेका छन्।
नेपाल बसाइका क्रममा उनीहरूले काठमाडौं, पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय स्थलहरू, हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई समेटेर छोटा भिडियोहरू तयार पार्नेछन्।
नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, र पर्यटनका विविध पक्ष समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन् । ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ प्रस्तुत गरिने छ।
कात्तिक १५, २०८३ आइतबार १४:४६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।