चीनमा जोखिमपूर्ण काममा रोबोटको प्रयोग, अग्ला भवनका सिसा सफाइदेखि छड बाँध्नेसम्म रोबोटकै भर

चीनमा जोखिमपूर्ण काममा रोबोटको प्रयोग, अग्ला भवनका सिसा सफाइदेखि छड बाँध्नेसम्म रोबोटकै भर

काठमाडौं : चीनले निर्माण क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै रोबोटको प्रयोग बढाउँदै लगेको छ। अग्ला–अग्ला भवनका जोखिमपूर्ण सिसा सफा गर्नेदेखि निर्माणस्थलमा बढी श्रम लाग्ने फलामका छड बाँध्नेसम्मका जटिल कामहरू अहिले रोबोटमार्फत गराउन थालिएको छ।

दक्षिण चीनको ग्वाङ्झाउमा अग्ला भवनका बाहिरी भाग, झ्याल तथा सिसा सफाइ, निरीक्षण र नियमित अनुगमनको काम रोबोटले गरिरहेका छन्। यसअघि मानिसले ठूलो जोखिम मोलेर गर्ने यी कामहरू रोबोटमा स्थानान्तरण भएसँगै श्रम लागत उल्लेख्य रूपमा घटेको छ।

एक्स–ह्युमनका सहसंस्थापक ह्वाङ जियानका अनुसार यो वर्ष चीनको घरेलु बजारमा रोबोटको माग ५० प्रतिशतले बढेको छ भने अन्तर्राष्ट्रिय बजारबाट पनि अर्डर तीव्र रूपमा आइरहेका छन्।

भवन सफाइमा मात्र नभई निर्माणस्थलमा समय र श्रम खपत हुने फलामका छड बाँध्ने कार्यमा पनि रोबोटको प्रयोगले कामको गति तीव्र बनाएको छ।

चाइना कन्स्ट्रक्सन फोर्थ इन्जिनियरिङ ब्युरोको इन्जिनियरिङ टेक्नोलोजी रिसर्च इन्स्टिच्युटअन्तर्गत स्मार्ट कन्स्ट्रक्सन रिसर्च सेन्टरका उपनिर्देशक ली बिङका अनुसार रोबोटले कामदारको तुलनामा ३० प्रतिशत बढी दक्षताका साथ काम गर्छन्। रोबोटको प्रयोगले निर्माण श्रमिकको भूमिकासमेत परिवर्तन गर्ने उनको भनाइ छ। उनका अनुसार श्रमिकलाई हातैले फलामका छड बाँध्ने कामबाट रोबोट सञ्चालन गर्ने औद्योगिक श्रमिकका रूपमा विकास गर्न सकिन्छ। यसले रोबोट प्रविधिको सुधार र दक्ष जनशक्ति विकासका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।

ग्वाङ्दोङ प्रान्तको आवास तथा शहरी–ग्रामीण विकास विभागका एक अधिकारीका अनुसार उक्त प्रान्तमा निर्माण रोबोट क्षेत्र र त्यसको आपूर्ति शृंखलालाई सहयोग गर्ने १० हजारभन्दा बढी उद्यम सञ्चालनमा छन्।

कात्तिक १५, २०८३ आइतबार १४:१०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।