पत्रकार धरपकडबारे रास्वपाले सरकारलाई के निर्देशन दियो?

पत्रकार धरपकडबारे रास्वपाले सरकारलाई के निर्देशन दियो?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारगृहमा प्रहरी पसेर पत्रकारमाथि धरपकड गरिएको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। 

शनिबार बसेको रास्वपाको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारी निकायबाट भएको उक्त कदमको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिए। सचिवालय बैठकले पत्रकारमाथि भएको धरपकडको घटनालाई गम्भीर रूपमा लिएको उनले बताए।

"के भयो, किन भयो, कसरी भयो, कसले गर्यो, कहाँ गर्यो र कुन उद्देश्यले गर्यो भन्ने विषय पार्टीले अनुसन्धान गर्ने कुरा भएन," खरेलले भने, "यो सरकारी निकायबाट भएको विषय भएकाले सरकारलाई तत्काल अध्ययन, अनुसन्धान र छानबिन गरी जो दोषी छ, उसलाई कारबाही गर्न पार्टीले स्पष्ट निर्देशन दिएको छ।"

पत्रकारमाथि धरपकड भएको जानकारी पाएको आधा घण्टाभित्रै पार्टी र स्वयं प्रवक्ताको तर्फबाट आफूले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै सरकारसँग तत्काल जवाफ माग गरिएको उनले बताए।

"अन्याय परेको भए थुप्रै कानुनी विकल्पहरू खुला रहँदारहँदै यस्तो कार्य गलत भएको भनेर हामीले तत्कालै सरकारको ध्यानाकर्षण गराएका थियौं। त्यसको डेढ घण्टा नबित्दै पार्टीको लेटरहेडमै आधिकारिक रूपमा यो कार्य गलत भएको प्रस्ट पारिसकेका थियौं," उनले थपे।

रास्वपा मिडियाको स्वतन्त्रता, विधिको शासन, मानवअधिकार र सामाजिक लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै खरेलले यस्ता गतिविधि पार्टीको नीति र मूल्यमान्यता विपरीत हुने बताए।

कमजोरी वा त्रुटि हुन सक्ने भए पनि त्यसलाई दोहोर्याउन नहुने भन्दै पार्टीको खबरदारीपछि प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा तत्काल पत्रकारहरूलाई रिहा गरिएको उनले जानकारी दिए। उक्त घटनामा प्रधानमन्त्री कार्यालयबाट संलग्नता नरहेको स्पष्ट पारिएपछि अब कसको निर्देशन र संलग्नतामा घटना भएको हो भन्नेबारे सरकारी तवरबाटै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा पार्टीको जोड रहेको खरेलले बताए। 

कात्तिक १४, २०८३ शनिबार १८:१५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।