सडक दुर्घटनामा पत्रकार पोखरेलको मृत्यु

सडक दुर्घटनामा पत्रकार पोखरेलको मृत्यु

बुटवल : नवलपरासीको रामग्राम नगरपालिका-२ सेतो पुलस्थित हुलाकी सडकमा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १२:१० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१३ भलवाडी निवासी अन्दाजी ४० देखि ५० वर्षका पोखरेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएकोमा चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए।

पोखरेल रुपन्देहीमा पत्रकारितामा सक्रिय थिए। उनले अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।

दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका-६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

कात्तिक १३, २०८३ शुक्रबार १५:२५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।