सम्भावित विपद् लक्षित पूर्वतयारी : प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरू ‘हाई अलर्ट’ मा
काठमाडौं : आगामी कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा सम्भावित चट्याङ, हुरीबतास तथा भारी वर्षाका कारण हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सचेत गराएसँगै स्वास्थ्य एकाइले पूर्वतयारी तथा प्रतिकार्यका काममा प्रभावकारी बन्न आग्रह गरेको हो।
एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहन एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्ने, निजको सम्पर्क विवरण एकाइमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनेको छ।
त्यसैगरी, सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालनसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।
स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ।
विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ।
एकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा पठाउन पनि सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ।
सम्भावित विपद्का क्रममा नागरिकलाई बिनाअवरोध तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य साझेदार निकायहरूसँग समेत समन्वय गर्न एकाइले निर्देशन दिएको छ।
कात्तिक ११, २०८३ बुधबार १०:५३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।