मतदाता धाँधलीको प्रमाण दिनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा आगामी मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गर्दै धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी अदालतबाट दोषी ठहरिएपछि मात्र सो पुरस्कार रकम उपलब्ध गराइने स्पष्ट पारेका छन्।
"विगतका निर्वाचन वा आगामी सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधलीबारे सूचना दिने जोकोहीलाई धाँधली गराउने व्यक्ति पक्राउ परी दोषी ठहरिएपछि १० लाख डलर दिइनेछ," ट्रम्पले लेखेका छन्।
आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई अमेरिकी संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने मुख्य प्रतिस्पर्धाका रूपमा हेरिएको छ। राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यबिन्दुमा हुने यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका करिब एक-तिहाइ सिट र विभिन्न राज्य तथा स्थानीय निकायका पदहरूका लागि मतदान हुनेछ।
यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनको विधायिकी एजेन्डा र वासिङ्टनको समग्र राजनीतिक शक्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्नेछ।
मध्यावधि निर्वाचनलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा समेत लिइन्छ।
संसद्का दुवै सदनमा राष्ट्रपतिको दलको पकड कमजोर भएमा सरकारलाई आफ्ना नीति तथा कार्यक्रम पारित गर्न कठिन हुनेछ।
ट्रम्प प्रशासनले आर्थिक चुनौती र घट्दो लोकप्रियताका बीच निर्वाचनको सामना गरिरहेको छ। द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ, जुन सन् १९९० यता मध्यावधि निर्वाचनअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले पाएको सबैभन्दा न्यून स्तर हो।
कात्तिक १०, २०८३ मंगलबार १०:००:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।