यू-१९ महिला विश्वकप तयारी, नेपाली टोलीले चीन र भारतमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
काठमाडौं : आगामी ‘आईसीसी महिला यू-१९ टी-२० विश्वकप’को तयारीका क्रममा नेपाली यू-१९ महिला राष्ट्रिय क्रिकेट टोलीले दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगिता खेल्न लागेको जानकारी दिएको हो।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपाली टोलीले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू-१९ गर्ल्स टी-२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
चार राष्ट्र सहभागी हुने उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, हङकङ र थाइल्यान्डका यू-१९ टोलीहरू रहनेछन्।
चीन भ्रमणलगत्तै नेपाली टोली भारत प्रस्थान गर्नेछ। भारतको बेङ्गलुरुमा आगामी नोभेम्बर १० देखि २२ सम्म आयोजना हुने त्रिदेशीय शृङ्खलामा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ।
उक्त शृङ्खलामा नेपालको यू-१९ टोलीसँगै भारतको यू-१९ महिला ‘ए’ र भारतको यू-१९ महिला ‘बी’ टोलीको सहभागिता रहने क्यानले जनाएको छ।
क्यानका अनुसार विश्वकपको पूर्वतयारीलाई मध्यनजर गर्दै टोलीलाई अन्तर्राष्ट्रिय खेल एक्सपोजर दिन यी दुवै प्रतियोगिताको तालिका तय गरिएको हो। दुवै प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ।
कात्तिक ६, २०८३ शुक्रबार २०:३१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।