दक्षिण अफ्रिकी स्टार डेविड मिलर कर्णाली याक्समा आबद्ध

दक्षिण अफ्रिकी स्टार डेविड मिलर कर्णाली याक्समा आबद्ध

काठमाडौं : दक्षिण अफ्रिकाका विश्वप्रसिद्ध विस्फोटक ब्याटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन्।

कर्णाली याक्सले शुक्रबार सामाजिक सञ्जालमार्फत मिलरलाई टोलीमा भित्र्याएको औपचारिक घोषणा गरेको हो।

विश्व क्रिकेटमा ‘किलर मिलर’ उपनामले परिचित ३७ वर्षीय बायाँहाते ब्याटर मध्यक्रममा आक्रामक ब्याटिङ तथा उत्कृष्ट ‘फिनिसर’ का रूपमा चिनिन्छन्। मिलर कर्णाली याक्समा आबद्ध हुने छैटौँ विदेशी खेलाडी हुन्।

सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका मिलरले हालसम्म १८० एकदिवसीय र १४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

उनले एकदिवसीयमा ८ शतक र २४ अर्धशतकसहित ४ हजार ७६२ रन तथा टी-२० अन्तर्राष्ट्रियमा २ शतक र ९ अर्धशतकसहित २ हजार ८०४ रन बनाएका छन्। अन्तर्राष्ट्रिय टी-२० मा उनको ब्याटिङ औसत ३३.७८ र स्ट्राइक रेट १४१.४० रहेको छ।

मिलरले सन् २०१७ मा बङ्गलादेशविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए। उनी सन् २०२४ को पुरुष टी-२० विश्वकपको फाइनलसम्म पुगेको दक्षिण अफ्रिकी टोलीका प्रमुख सदस्यसमेत हुन्।

विश्वका चर्चित १३ वटा व्यावसायिक लिग खेलिसकेका मिलरसँग इन्डियन प्रिमियर लिग (आइपीएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सलगायतका टोलीबाट खेलेको लामो अनुभव छ।

कर्णाली याक्सले आगामी संस्करणका लागि यसअघि नै पाकिस्तानको टी-२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलात, स्कटल्यान्डका मार्क वाट तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।

कात्तिक ६, २०८३ शुक्रबार २०:४२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।