मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षकमा कायरन पोलार्ड नियुक्त
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले पूर्व अलराउन्डर कायरन पोलार्डलाई आफ्नो नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
पोलार्डले महेला जयवर्द्धनेको स्थान लिनेछन्, जसलाई फ्रेन्चाइजले यसै महिनाको सुरुमा जिम्मेवारीबाट बिदाइ गरेको थियो।
३९ वर्षीय पोलार्ड सन् २०१० देखि २०२२ सम्म मुम्बई इन्डियन्सका प्रमुख खेलाडीका रूपमा रहेका थिए। त्यसपछि उनले टोलीको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
मुख्य प्रशिक्षकमा नियुक्त भएपछि पोलार्डले आफ्नो पुरानो टोलीलाई नेतृत्व गर्न पाउनु गर्वको विषय भएको बताएका छन्।
‘मुम्बई इन्डियन्स मेरो जीवन र खेल जीवनको ठूलो हिस्सा हो। खेलाडी र प्रशिक्षक दुवैको अनुभव भएकाले मैले यो टोलीको गरिमा र जिम्मेवारी बुझेको छु,’ पोलार्डले भने, ‘हाम्रो प्रतिभालाई निखार्दै र टोलीको विरासतलाई अगाडि बढाउँदै समर्थकहरूलाई खुसी बनाउन म प्रतिबद्ध छु।’
मुम्बई इन्डियन्सकी सह-मालिक नीता अम्बानीले पोलार्ड विगत १६ वर्षदेखि परिवारको अभिन्न अंग रहँदै आएको बताइन्।
‘२२ वर्षको उमेरमा मुम्बई इन्डियन्समा आबद्ध भएका पोलार्डले खेलाडीका रूपमा अविस्मरणीय क्षणहरू दिएका छन् भने प्रशिक्षकका रूपमा आफ्नो अनुभव बाँडेका छन्,’ अम्बानीले भनिन्, ‘उनको प्रतिबद्धता र ऊर्जाले मुम्बईलाई नयाँ उचाइमा पुर्याउनेमा हामी विश्वस्त छौँ।’
खेलाडीदेखि मुख्य प्रशिक्षकसम्मको यात्रा
वेस्ट इन्डिजका पूर्व कप्तान पोलार्डले आईपीएलमा मुम्बई इन्डियन्सबाट मात्रै खेलेका छन्। उनले १८९ खेलमा ३ हजार ४१२ रन बनाउनुका साथै ६९ विकेट लिएका थिए।
मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जित्दा पोलार्ड टोलीका महत्त्वपूर्ण सदस्य थिए। सन् २०२२ को सिजनपछि उनले खेलाडी जीवनबाट सन्यास लिँदै ब्याटिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
मुम्बई इन्डियन्सका लागि पछिल्ला केही सिजनहरू भने सुखद रहन सकेका छैनन्। सन् २०२३ र २०२५ मा प्लेअफसम्म पुगेको मुम्बई २०२४ र २०२६ को संस्करणमा भने क्रमशः १० औँ र नवौँ स्थानमा सीमित भएको थियो।
मुख्य प्रशिक्षकका रूपमा पोलार्डको पहिलो महत्त्वपूर्ण कार्य नोभेम्बर १५ को समयसीमाभित्र खेलाडीहरूको ‘रिटेन्सन सूची’ तयार गर्नु हुनेछ। त्यसलगत्तै आईपीएल २०२७ को अक्सन गोवामा हुने अपेक्षा गरिएको छ।
कात्तिक ७, २०८३ शनिबार ११:५५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।