एनपिएलका लागि पोखरा एभेन्जर्समा बङ्गलादेशका मोहम्मद सैफउद्दिन अनुबन्ध
काठमाडौं : बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ।
सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन्। उनले सन् २०१७ मा बङ्लादेशको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए।
सैफउद्दिनले बङ्लादेशका लागि ३० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ३६२ रन बनाउनुका साथै ४२ विकेट लिएका छन्। त्यस्तै, उनले ५१ टी-२० अन्तरराष्ट्रिय खेल खेलेका छन्।
सन् २०१६ को आइसिसी यु-१९ विश्वकपमा बङ्लादेशका लागि प्रभावशाली प्रदर्शन गरेका सैफउद्दिनले प्रतियोगितामा १३ विकेट लिएका थिए। उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि बङ्लादेशको प्रतिनिधित्व गरेका थिए।
सैफउद्दिनले विभिन्न पाँच वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बिपिएल) खेलिसकेका छन्। एनपिएल उनका लागि पहिलो विदेशी लिग हो। पोखराले सैफउद्दिनसहित बङ्लादेशकै शाकिबअल हसन र मेहदी हसनलाई पनि अनुबन्ध गरिसकेको छ। एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ।
कात्तिक ६, २०८३ शुक्रबार १०:५२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।