साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु : विदेशमा रहेका नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग
काठमाडौं : नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा नेपाली नागरिकको मृत्यु भएको घटनाको निन्दा र भर्त्सना गरेको छ। कांग्रेसले एक विज्ञप्ति जारी गरेर निर्दोष नागरिकको ज्यान जानेगरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य मान्यता विपरीत भएको भनेको छ।
साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहल गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गरायो। नेपाल सरकारसँग मृतक नेपाली नागरिकको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन तथा साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्न माग गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको भनिएको छ। साथै सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा साउदी अरबमा रहेका नेपाली नागरिकको उद्धारको प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेको छ।
नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कूटनीतिक तथा सुरक्षासम्बन्धी पहल गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिइएको कार्यवाहक मुख्यसचिव दुलालले बताए। नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
यसअघि साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको भग्नावशेषले ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी हुँदा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको तथा पाकिस्तानी र भारतीय नागरिक घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। साउदी अधिकारीका अनुसार घटनाले तेल क्षेत्रको सञ्चालनमा भने असर पारेको छैन।
कात्तिक ६, २०८३ शुक्रबार ०७:४८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।