पीएचपीमा सुरक्षा जोखिम देखिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट अफलाइन
काठमाडौं : विश्वभर प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सावधानीस्वरूप नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै प्रणाली सुरक्षित गर्न, डेटा जोगाउन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो।
केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा कमजोरी (सिभिएसएस ९.२) फेला परेको छ। यस जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन्। यो कमजोरीको फाइदा उठाउँदै ह्याकर वा आक्रमणकारीले बिना लगइन नै सिधै सर्भरमा कोड चलाउन र प्रणाली नियन्त्रणमा लिन सक्ने खतरा रहन्छ।
बडादशैंको बिदाको समयमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र र सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रण तथा प्रणाली अद्यावधिक गर्न निरन्तर खटिरहेको केन्द्रले जानकारी दिएको छ।
प्रभावित प्रणालीहरूमा आवश्यक सुरक्षा प्याच राख्ने र प्राविधिक परीक्षण गर्ने काम भइरहेको छ। परीक्षण सम्पन्न भई पूर्ण रूपमा सुरक्षित भएसँगै बन्द रहेका सरकारी वेबसाइट तथा सेवाहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले स्पष्ट पारेको छ।
कात्तिक ५, २०८३ बिहीबार १५:०९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।