बिर्तामोडमा ग्यारेज क्यान्टिनमा आगलागी: एक जनाको मृत्यु, ३ लाखको क्षति

बिर्तामोडमा ग्यारेज क्यान्टिनमा आगलागी: एक जनाको मृत्यु, ३ लाखको क्षति

झापा : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिहीबार बिहान करिब ४:१० बजे भएको आगलागीमा परी क्यान्टिनमा कार्यरत ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

गौरीगञ्ज गाउँपालिका–२ का स्थायी बासिन्दा तामाङ बिर्तामोड–४ का रवि राजवंशीद्वारा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा काम गर्दै आएका थिए। उक्त क्यान्टिन ध्रुव भट्टराईको जग्गामा टिनको छानो हालेर बनाइएको घरमा सञ्चालनमा थियो।

आगलागीबाट एक लाख नगद रूपैयाँ, भाँडाकुँडा, लत्ताकपडा र तीनवटा खसीबाख्रा जलेर नष्ट भएका छन्। साथै, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालको मार्बल तथा टाइल्स गोदाममा पनि सामान्य क्षति पुगेको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कात्तिक ५, २०८३ बिहीबार १३:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।