सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो, दार्मा गाउँपालिका बढी प्रभावित

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो, दार्मा गाउँपालिका बढी प्रभावित
तस्विर : एआई

सुर्खेत : सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका-४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएसँगै सल्यानमा यस रोगबाट ज्यान गुमाउनेको संख्या १० पुगेको हो।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ। कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ।

यसैगरी, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार असोज २८ गते परीक्षण गर्दा जितबहादुर मल्लमा स्क्रब टाइफस पुष्टि भएको थियो। जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका उनमा पुनः श्वासप्रश्वासको गम्भीर समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। जिल्लामा संक्रमितको संख्या उल्लेख्य रहेकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन्।

स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने भएकाले यसको जोखिम कम गर्न घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउने, बुट तथा पञ्जा प्रयोग गर्ने र घरवरपरका झाडी सफा राख्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन्।

ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। 

कात्तिक ५, २०८३ बिहीबार १४:२८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।