आगामी तीन दिन कस्तो रहला मौसम?

आगामी तीन दिन कस्तो रहला मौसम?

काठमाडौं : देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले बिहीबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ। तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

यस्तै, शनिबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो दिन देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ।

कात्तिक ५, २०८३ बिहीबार ०९:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।