पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ

पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ

काठमाडौं : बाँकेको बैजनाथ गाउँपालिका-८ टिटिरियामा एयर पेस्तोल देखाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

स्थानीय २९ वर्षीय श्यामकुमार थारुलाई एयर पेस्तोल देखाएर धम्क्याएको अभियोगमा सोही स्थानका २८ वर्षीय सन्दीप चौधरीलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ५ बजे थारुको किराना पसलको आँगनमा उनीहरूबीच विवाद भएको थियो। सो क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाई थारुलाई मार्ने धम्की दिएका थिए।

घटनाबारे जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको थियो। चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ५, २०८३ बिहीबार ०७:५६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।