बंगलादेशी अलराउन्डर महेदी हसन पोखरा एभेन्जर्समा अनुबन्ध
काठमाडौं : बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
पोखरा एभेन्जर्सले आज सामाजिक सञ्जालमार्फत ३१ वर्षीय महेदीलाई आगामी सिजनका लागि विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको औपचारिक जानकारी दिएको हो।
पोखराले फेसबुक पेजमा लेखेको छ, ‘बंगलादेशका उत्कृष्ट अलराउन्डर तथा आईसीसी टी-२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा शीर्ष आठभित्र रहेका महेदी हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा देखिनेछन्।’
दायाँहाते ब्याटर तथा अफस्पिनर महेदीले हालसम्म बंगलादेशका लागि ७८ टी-२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय खेल खेलेका छन्। उनले टी-२० अन्तर्राष्ट्रियमा ४९४ रन बनाउनुका साथै ७८ विकेट लिएका छन् भने एकदिवसीयमा १५ विकेट हात पारेका छन्।
बंगलादेश प्रिमियर लिग (बीपीएल) मा विभिन्न ६ वटा टोलीबाट खेलिसकेका महेदीका लागि एनपीएल पहिलो विदेशी फ्रेन्चाइज लिग हुनेछ।
पोखरा एभेन्जर्सले आगामी संस्करणका लागि यसअघि नै बंगलादेशका पूर्वकप्तान तथा विश्वचर्चित अलराउन्डर शाकिब अल हसन र श्रीलंकाका चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।
कात्तिक ४, २०८३ बुधबार २०:४५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।