टाइगर श्रफमाथि गोली प्रहार प्रकरण : अमृतसरबाट रेलमार्ग हुँदै मुम्बई पुर्याइएको थियो हतियार, पक्राउ पर्नेको संख्या सात पुग्यो
एजेन्सी : बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहार घटनामा दिल्ली प्रहरीको ‘स्पेशल सेल’ले दुई महिलासहित थप चार जनालाई पक्राउ गरेको छ। योसँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या सात पुगेको छ।
हतियार आपूर्ति गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा कुणाल, सुमित, राधा र बबिता रहेका छन्। यसअघि राजस्थानको कोटाबाट पक्राउ परेका तीन अभियुक्तलाई भने मुम्बई क्राइम ब्रान्चको टोलीले बुधबार मुम्बई पुर्याएको छ।
दिल्ली प्रहरीका अनुसार हालै जेलबाट रिहा भएका कुणाल ‘अनिल पण्डित’ नामक व्यक्तिको निर्देशनमा सुमितसँगै हतियार लिन अमृतसर पुगेका थिए। अमृतसरबाट हतियार संकलन गरेपछि कुणालले राधा र बबितामार्फत ती हतियार रेलमार्ग हुँदै मुम्बई पठाएका थिए।
कुणालले राधासँगको व्यक्तिगत सम्बन्धको फाइदा उठाएर उनलाई हतियार ओसारपसारमा संलग्न गराएको प्रहरीले जनाएको छ। १५ तारिखमा हिँडेका उनीहरू १७ तारिख बिहान मुम्बई पुगेका थिए र सोही दिन बिहान करिब ११ बजे दादर रेलवे स्टेसननजिकै एक नाबालिगलाई हतियार हस्तान्तरण गरेका थिए।
हतियार कहाँबाट लिने, मुम्बई कसरी पुर्याउने र कसलाई दिने भन्ने निर्देशन सामाजिक सञ्जाल लगायतका माध्यमबाट हुने गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसअघि पनि कुणालले पण्डितकै निर्देशनमा पानीपतमा गोलीकाण्ड गराएको खुलेको छ।
हतियार ओसारपसार गरेबापत कुणालले ७० देखि ८० हजार रुपैयाँ पाएका थिए भने त्यसमध्ये बबितालाई १० देखि १२ हजार रुपैयाँ दिइएको थियो। अभियुक्त कुणाल र सुमित सोनीपतका बासिन्दा हुन् भने मूलतः उत्तर प्रदेशका राधा र बबिता पनि सोनीपतमा नै बस्दै आएका थिए।
प्रहरीका अनुसार अनिल पण्डित र ह्यारी बक्सर ‘रणदीप मलिक गिरोह’का सदस्य हुन्। यो गिरोह फिरौती असुली र गोलीकाण्डका घटनाहरूमा संलग्न रहँदै आएको छ। प्रारम्भिक सोधपुछमा यी अभियुक्तहरूको काम हतियार ओसारपसार गर्ने नेटवर्कमा मात्र सीमित रहेको र अन्य कुनै सेलिब्रेटी निशानामा रहेको विवरण नखुलेको प्रहरीले जनाएको छ।
यसैबीच अनिल पण्डितले यस घटनाको जिम्मेवारी लिएको दाबी गरिएको एक अडिओ सार्वजनिक भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। मुम्बई प्रहरीले आक्रमणकारीहरू भाग्न प्रयोग गरेको पल्सर मोटरसाइकलका पूर्वधनी रज्जब अली शेखको पहिचान गरी सोधपुछ गरेको छ। शेखले भनेअनुसार उनले उक्त मोटरसाइकल २५/२६ हजार रुपैयाँमा बिक्री गरिसकेका थिए।
सञ्चारमाध्यममा घटना सार्वजनिक भएपछि प्रहरी घरमै आएर सोधपुछ गर्दा मात्र आफूले बेचेको मोटरसाइकल यस घटनामा प्रयोग भएको जानकारी पाएको र यसबारे सबै तथ्य प्रहरीलाई जानकारी गराइसकेको उनले बताएका छन्।
कात्तिक ४, २०८३ बुधबार १६:५०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।