भारतमा कस्मिर जाने बसहरूमाथि आक्रमण

भारतमा कस्मिर जाने बसहरूमाथि आक्रमण

एजेन्सी : भारतको हरियाणा र पञ्जाब राज्यमा कस्मिरतर्फ गइरहेका यात्रुवाहक बसहरूमाथि लगातार दुई दिन आक्रमण र ढुङ्गामुढा भएपछि जम्मु-कस्मिरका यात्रु तथा चालकहरूमा त्रास र चिन्ता बढेको छ।

यी घटनापछि जम्मु-कस्मिरका राजनीतिक दलहरूले आक्रमणको निन्दा गर्दै यात्रु र चालकहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

पहिलो घटना अक्टोबर १७ को राति हरियाणाको करनालमा भएको थियो। पुँछ निवासी बसचालक वकार चौधरीका अनुसार एक रेस्टुरेन्ट अगाडि खाना खान बस रोकेका बेला पार्किङबाट गाडी हटाउने विषयमा विवाद भएको थियो।

चौधरीले भने, ‘एक व्यक्तिले जम्मु-कस्मिरको नम्बर प्लेट देखेपछि गाडीमा लात्ती हान्दै गालीगलौज गरे। त्यसपछि अरू युवाहरू पनि थपिएर कम्तीमा पाँच जनाको समूहले बसमा ढुङ्गामुढा सुरु गर्यो।’

आक्रमणकारीहरू कार र मोटरसाइकलमा आएका थिए। तोडफोडबाट बसमा तीनदेखि चार लाख भारतीय रुपैयाँ बराबरको क्षति भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा आक्रमणका कारण एक वृद्ध यात्रुको नाकबाट रगत बगिरहेको देखिएको थियो।

यद्यपि, हरियाणा प्रहरीले यस घटनामा क्षेत्रीय वा नश्लीय विभेदको कोण नरहेको दाबी गर्दै पार्किङ विवादका कारण झगडा भएको जनाएको छ। प्रहरीले घटनामा संलग्न करनालका मोहित र सावन नाम गरेका दुई युवकलाई पक्राउ गरेको छ।

यस घटनालगत्तै जम्मु-कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीसँग कुरा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। जवाफमा मुख्यमन्त्री सैनीले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

हरियाणाको घटना सेलाउन नपाउँदै अक्टोबर १८ को राति पञ्जाबको खन्ना क्षेत्रमा पनि कस्मिर गइरहेको अर्को बसमाथि ढुङ्गामुढा भएको छ। ढुङ्गा प्रहारबाट बसको झ्यालका सिसा फुटेका छन्। घटनामा कोही घाइते नभए पनि पञ्जाब प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

यात्रु र चालक भन्छन्- ‘राजमार्गमा असुरक्षा बढ्यो’
श्रीनगरबाट लुधियाना जाँदै गरेका २३ वर्षीय यात्रु तौफिक राजाले यस्ता घटनाले स्वाभाविक रूपमा डर पैदा गर्ने बताए।

उनले भने, ‘हामी कस्मिरबाट भएकाले पनि यस्तो घटनाले बढी चिन्ता हुन्छ। समाजमा केही उपद्रवी तत्त्व हुन्छन्, तर यात्रा रोकिनु हुँदैन। तैपनि यस्ता घटनाले अनिश्चितताको वातावरण बनाउँछ।’

दिल्ली-श्रीनगर रुटमा नियमित बस चलाउने कठुआका चालक आशिक अलीले पञ्जाब र हरियाणाका राजमार्गमा यस्तो समस्या बारम्बार दोहोरिने गरेको गुनासो गरे।

उनका अनुसार नशामा रहेका उपद्रवीहरूले साना–तिना बहानामा बसचालकहरूसँग झगडा र कुटपिट गर्ने गरे पनि सहयोगका लागि कोही नआउने पीडा चालकहरूले भोग्दै आएका छन्।

कात्तिक ३, २०८३ मंगलबार २१:१६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।