कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृत्यु, १५ जना बेपत्ता
एजेन्सी : कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
नारिनो विभाग अन्तर्गत पर्ने सान्ता बार्बरा डे इस्कुआन्डे नगरपालिकाको चाम्बेरो ग्रामीण क्षेत्रमा सोमबार सो दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
नारिनोका विपद् व्यवस्थापन अधिकारी जोर्गे तोवार कास्तियोका अनुसार दुर्घटनापछि १२ देखि १५ जना मजदुरहरू अझै बेपत्ता रहेको खबर प्राप्त भएको छ।
सान्ता बार्बरा डे इस्कुआन्डे क्षेत्र घना वर्षावन (रेनफरेस्ट) ले घेरिएकाले त्यहाँ डुङ्गा वा साना हवाइजहाजमार्फत मात्र पुग्न सकिन्छ। कठिन भूगोल र सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्धार तथा राहत कार्यमा चुनौती थपिएको स्थानीय प्रशासनले जनाएको छ। नारिनाका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले सामाजिक सञ्जाल 'एक्स' मा सन्देश लेख्दै खोज तथा उद्धार कार्य सम्पन्न भइसकेको र दुर्घटनाग्रस्त खानी 'अवैध' प्रकृतिको रहेको पुष्टि गरेका छन्।
उनले भने, "यतिबेला हाम्रो मुख्य प्राथमिकता मानिसहरूको ज्यान बचाउनु, पीडित परिवारलाई साथ दिनु र यो पीडादायी त्रासदीमा आवश्यक उद्धार र राहतको ग्यारेन्टी गर्नु हो।"
घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई पुनः उजागर गरेको सरकारले बताएको छ। तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दुईवटा खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले उल्लेख गरेको छ।
कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा छन्। उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय रहेको बताइएको छ।
कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पुर्याउन अवरोध नगर्न आग्रह गरेको छ।
कात्तिक ३, २०८३ मंगलबार १३:५३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।