आज दशैंको टीका लगाउने दिन : उत्तम साइत १०:२६ बजे
काठमाडौं : दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज (आश्विन शुक्ल दशमी) देशभर मान्यजनबाट रातो टीका र जमरा ग्रहण गरी विजयादशमी पर्व मनाइँदै छ। घटस्थापनाका दिन पूजा कोठा तथा दशैंघरमा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद थाप्ने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको थियो भने टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम निर्धारण गरिएको छ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणका लागि दिनभर नै टीका ग्रहण गर्न साइतको बाध्यता नरहे पनि राज्य सञ्चालकले भने तोकिएको शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ। समितिले टीका लगाइदिने व्यक्ति पूर्व र लगाइमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्ने जनाएको छ।
धार्मिक विश्वासअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले यस दिनलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइँदै आइएको हो। आजका दिन मान्यजनबाट रातो टीकालाई शुभ साइत र पहेँलो जमरालाई समृद्धिको प्रतीकका रूपमा ग्रहण गर्दै यश, ऐश्वर्य एवं दीर्घायुको आशीर्वाद लिने गरिन्छ।
आज सुरु भएको टीका ग्रहण गर्ने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ। देशका अधिकांश भागमा पूर्णिमासम्म नै टीका लगाउने परम्परा रहे पनि केही भूगोल तथा समुदायमा कुल परम्पराअनुसार आज एक दिन मात्र टीका लगाउने तथा कतिपय जाति विशेषले दही र अक्षताको सेतो टीका लगाउने प्रचलनसमेत रहेको छ।
कात्तिक ४, २०८३ बुधबार ०७:४०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।