एनपीएल-३ मा ‘रावलपिण्डी एक्सप्रेस’को इन्ट्री, शोएब अख्तर र केभिन ओ'ब्रायन विश्लेषकको भूमिकामा

एनपीएल-३ मा ‘रावलपिण्डी एक्सप्रेस’को इन्ट्री, शोएब अख्तर र केभिन ओ'ब्रायन विश्लेषकको भूमिकामा

काठमाडौं : क्रिकेटको सबैभन्दा तीव्र बलको कीर्तिमान आफ्नै नाममा राख्ने पाकिस्तानी पूर्व तीव्र गतिका बलर शोएब अख्तर अब नेपाली क्रिकेटप्रेमीको टेलिभिजन स्क्रिनमा देखिँदै छन्।

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा उनी विश्लेषकका रूपमा आउने भएका छन्। उनीसँगै आयरल्यान्डका चर्चित पूर्व क्रिकेटर केभिन ओ'ब्रायन पनि विश्लेषक टोलीमा छन्।

‘रावलपिण्डी एक्सप्रेस’का नामले चिनिने अख्तर ‘क्रिकेट लाइभ’ कार्यक्रममा विशेष अतिथि विश्लेषकका रूपमा सहभागी हुनेछन्।

उनले खेलअघि र खेलपछिको विश्लेषणमा आफ्नो अनुभव बाँड्ने, खेलका प्राविधिक पक्षमाथि प्रकाश पार्ने र नेपाली क्रिकेटको सम्भावनाबारे धारणा राख्नेछन्।

सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको राष्ट्रिय टोलीमा खेलेका अख्तरले ४६ टेस्टमा १७८, १६३ एकदिवसीयमा २४७ र १५ टी-२० अन्तर्राष्ट्रिय खेलमा १९ विकेट लिएका छन्। तीनै ढाँचा जोड्दा उनको अन्तर्राष्ट्रिय विकेट सङ्ख्या ४४४ पुग्छ।

सन् २००३ को आईसीसी विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा फ्याँकिएको उनको बल अहिलेसम्म आधिकारिक रूपमा रेकर्ड भएको सबैभन्दा तीव्र बल हो।

नेपाल भ्रमणका क्रममा उनी क्रिकेटसम्बन्धी विशेष अन्तरक्रिया र प्रशंसकसँग भेटघाट कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

अख्तरसँगै विश्लेषक टोलीमा रहेका ओ'ब्रायन नेपाली क्रिकेटका लागि नौला होइनन्।

सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमै शतक ठोक्दै आयरल्यान्डलाई ऐतिहासिक जित दिलाएका उनी एनपीएल २०२४ मा बिराटनगर किङ्सका मुख्य प्रशिक्षक थिए। नेपालका फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका उनले यहाँको क्रिकेट नजिकबाट देखेका छन्, जसले उनको विश्लेषणमा स्थानीय सन्दर्भ थप्ने अपेक्षा छ।

नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा फ्रेन्चाइज सञ्चालक बर्दान चालिसे पनि विश्लेषक प्यानलमा छन्। उनले खेलाडीको अनुभव र सञ्चालकको दृष्टिकोण एकसाथ दर्शकसामु ल्याउनेछन्।

गत वर्ष नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म चलेको एनपीएलको दोस्रो संस्करण स्टार स्पोर्ट्स र नेपालतर्फ कान्तिपुर म्याक्स एचडीमा देखाइएको थियो। स्टार स्पोर्ट्समा मैदानको फिड मात्र देखाइएको थियो।

प्रसारण अधिकार प्रतियोगिता सुरु हुने केही दिनअघि मात्र प्रसारण अधिकार टुङ्गिएको थियो। त्यसक्रममा कान्तिपुर म्याक्स २ मा पहिलो पटक नेपाली भाषाको लाइभ कमेन्ट्री सुरू गरिएको थियो। तर विश्लेषणको पाटो भने फितलो रह्यो।

पहिलो र दोस्रो संस्करणका प्रसारकले मैदानको फिड नेपाली खेलाडी र विश्लेषकसँग जोडेर देखाए पनि दुई इनिङ्सको बीचमा विश्लेषण नदेखाई विज्ञापन मात्र चलाउँथे। यसपालि त्यो ढर्रा फेरिने र पहिलो इनिङ्सको विश्लेषण पनि हेर्न पाइने प्रसारकले जनाएको छ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म चल्नेछ। यसपालिको प्रसारण अधिकार पाएको हिमालय स्पोर्ट्स (हिमालय टिभी) का अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले विश्वव्यापी ख्यातिप्राप्त क्रिकेटर विश्लेषकका रूपमा आउँदा टेलिभिजन दर्शकसङ्ख्या बढ्ने विश्वास व्यक्त गरेका छन्।

असोज ३०, २०८३ शुक्रबार १२:३९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।